२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

मंगलवार , फाल्गुण ६, २०८१

दाङ, ६ फागुन । लुम्बिनी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेश सभाको पाँचौं (हिउँदे) अधिवेशन अन्त्य गरेका छन् । नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम फागुन ६ गते मंगलबार राति १२ः०० बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो ।

pradesh sava.jpeg

प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । सोही आधारमा प्रदेश प्रमुखको कार्यालयले प्रदेश सभामा सूचना पठाएको छ । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम (३) अनुसार प्रदेश सभा सदस्यहरूलाई जानकारी गराउन सूचना प्रकाशन गरिएको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।

पुस १६ गतेदेखि सुरु भएको यो अधिवेशनमा ११ वटा बैठक बसेका थिए । प्रदेश सभाका सचिव  पुनका अनुसार अधिवेशनले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पारित गरेको छ।

त्यसै गरी, यसअघि प्रदेश प्रमुखले प्रमाणीकरण नगरी फिर्ता पठाएका प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका शर्तसम्बन्धी विधेयक पनि पुनः हुबहु पारित गरिएको थियो ।