२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेपाली विद्यार्थीको रहस्यमय मुत्यु प्रकरण : छानबीनका लागि पहल गर्न अनेरास्ववियुको माग

बुधवार , फाल्गुण ७, २०८१

भैरहवा, ७ फागुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिद्धार्थनगर नगर कमिटी र भैरहवा बहुमुखी क्याम्पसले भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी छात्राबासमा मृत भेटिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ निवासी प्रकृति लम्सालको रहस्यमय मृत्यु प्रकरण घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको अनेरास्ववियुले बताएको हो । मंगलबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले उक्त घटनाको निष्पक्ष छानबीन गर्न दबाब दिन माग गरेको छ । ‘न्यायको माग गर्दै प्रदर्शन गरेका नेपाली विद्यार्थीहरुमाथि कलेज प्रशासनले दमन गर्ने र उल्टै कलेजबाट निकाल्ने जस्तो अमानवीय कार्य गरेकोमा घोर भत्र्सना गर्दछौं’अनेरास्ववियु सिद्धार्थनगरका कार्यबाहक अध्यक्ष कमल घिमिरे र भैरहवा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष विवेक भण्डारीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ ।

घटनाको कुटनीतिक पहलमार्फत भारत सरकारसँग कुरा गरी निष्पक्ष छानबीन गराउन तथा त्यस विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुको सुरक्षाको प्रत्याभूति गर्दै अध्ययनको वातावरण गराउन अनेरास्ववियुले नेपाल सरकारसँग माग गरेको छ । ‘उक्त विश्वविद्यालयमा भइरहेको न्याय प्राप्तीको आन्दोलनप्रति संगठनकोतर्फबाट ऐक्ववद्धता जनाउँदछौं, ’ज्ञापनपत्रमा भनिएको छ ।