
बुधवार , चैत्र ४, २०७७
भैरहवा, ४ चैत ।
भैरहवामा बिहानी हिंडाइ हिड्ने समूह जगर्श ग्रुपको सचिवालय बुधबार उद्घाटन गरिएको छ । सिद्धार्थनगर नगरपालिका–८ स्थित राधेपथमा ग्रुपको सचिवालय उद्घाटन गरिएको हो ।
सचिवालयको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपानेले उद्घाटन गरे । कार्यक्रममा बोल्दै न्यौपानेले थुप्रै संघ–संस्थाले जस्तै जगर्श ग्रुप सिद्धार्थनगरको विकासको लागि अगाडी बढेको बताए । उनले सिद्धार्थ उद्योग वाणिज्य संघ नीजि क्षेत्रको रुपमा सबै संघ–संस्थाको अभिभावकको भूमिका खेल्दै आएको बताए । उनले संघले सम्पूर्ण संस्थाहरुलाई समेटेर अगाडी बढेको बताए । ‘विगतमा यस क्षेत्रको विकासको लागि भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनुपर्छ भनेर दबाब दिदैं आएको थियौं, फलस्वरुप अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्पन्न हुने क्रममा छ, ’उनले भने । यस क्षेत्रको विकासको लागि विभिन्न मंचमा संघले आवाज उठाउँदै आएको उनको भनाइ थियो ।
जगर्श ग्रुपका अध्यक्ष प्रकाश घिमिरेले संस्थाको सदस्यहरुबाट वार्षिक १ लाख ३५ हजार रुपैयाँ संकलन गरेर सामाजिक सेवामा रकम खर्चिएको बताए । उनले बिहान हिड्दा शरीर स्वस्थ हुने भएकोले जगर्श ग्रुप गठन गरेर उक्त कार्यमा लागिएको बताए ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष तथा र जगर्श ग्रुपका सदस्य राजनजंग राणाले ग्रुपले विभिन्न क्षेत्रमा काम अगाडी बढाएको बताए । उनले ग्रुपका सदस्यहरुले बिहान १० रुपैयाँको चिया पिउने र १० रुपैयाँ उठाएर मासिक ३ सय रुपैयाँ संकलन गरी उक्त रकम सामाजिक क्षेत्रमा खर्चिदै आएको बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष भिष्म प्रसाद न्यौपानेले रुपन्देहीको समग्र विकासका लागि के के गर्नुपर्छ भनेर पहिचान गर्दै संघ अगाडी बढेको बताए । उनले उद्योग व्यवसायको प्रबद्र्धन तथा मुलुकको समृद्धि कसरी हुन्छ भन्ने कुरामा दत्तचित्त भएर लागेको बताए । अध्यक्ष न्यौपानेले जगर्श ग्रुपसंग सहकार्य र सर–सल्लाह गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
सिद्धार्थ उद्योग वाणिज्य संघका नवनिर्वाचित महासचिव विजय पाण्डेले बिहान छिटो उठ्नपर्छ भन्दै जगर्श ग्रुपले जगाएको बताए । उनले सचिवालय उद्घाटन गरेको गुप्रले सकारात्मक सन्देश दिएको बताए ।
जगर्श ग्रुपका संस्थापक तथा सल्लाहकार हरिशचन्द्र श्रेष्ठले जगर्श गुप्रले आगामी दिनमा पनि सामाजिक कार्यहरुलाई निरन्तरता दिनुपर्ने बताए ।
जगर्श ग्रुपका निवर्तमान अध्यक्ष खिम बहादुर कार्कीको स्वागत तथा सचिव प्रियाबन्धु न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघको ६२ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई जगर्श ग्रुपले सम्मान गरेको थियो । त्यस्तै कार्यक्रममा जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२१ को लागि अध्यक्षमा निर्वाचित गोपाल ज्ञवालीलाई पनि सम्मान गरिएको थियो ।
सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य कमल प्रसाद मरासिनीले जगर्श ग्रुपको सचिवालयको लागि आफ्नो घरको कोठा निःशुल्क उपलब्ध गराउनुभएको कार्यक्रम संयोजक मिलन थापाले बताए । । २०७० सालमा स्थापना भएको जगर्श ग्रुपमा ४५ जना सदस्य आबद्ध छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij