
बुधवार , फाल्गुण ७, २०८१
भैरहवा, ७ फागुन । बर्दिया र रुपन्देहीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट खेलमा जीत निकालेका छन् । बुधबार भएका दुई खेलमा बर्दियाले बाँकेलाई ४ विकेटले हराउँदा रुपन्देहीले कपिलवस्तुमाथि १ सय ५६ रनको सहज जीत निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बाँकेले निर्धारित ५० ओभरमा ३८ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर १ सय ७६ रन बनायो । उसका लागि सलाउद्दिन खानले ५२, आकाश विष्टले २९, सादब अन्सारीले २६ र सिद्धान्तराज शाहीले २२ रन बनाए । बलिङमा बर्दियाका सौगात खत्रीले ५, सनम बुढा र अनुल कंडेलले २–२ तथा ट्राभिस जैशीले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको बर्दियाले ४७ ओभर ३ बलमा ६ विकेट गुमाएर १ सय ७७ रन बनाउँदै जीत निकाल्यो । उसको जीतमा केशव विष्टले ६४, आकाश खत्रीले ३६, अशिम गिरीले ३३, नविन बुढाथोकीले १३ र अर्पण पौडेलले १० रनको योगदान गरे । बलिङमा बाँकेका विजय चौधरीले ५ र सलाउद्दिन खानले १ विकेट लिए । खेलमा सौगात खत्री प्लेयर अफ द म्याच भए ।
त्यस्तै, तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ४७ ओभरमा ८ विकेट गुमाएर २ सय २० रन बनायो । उसका लागि प्रज्वल थापाले ६९, मिर्नाल गुरुङले ३५, एजाजुल हकले ३४ र कृष्ण कार्कीले अविजित ३१ रनको योगदान गरे । बलिङमा कपिलवस्तुका मोहम्मद हुसेन गद्दी र शिव कुँवरले ३–३ तथा प्रयासदेव गैरेले २ विकेट लिए ।
प्रतिउत्तरमा कपिलवस्तु ३० ओभर १ बलमा ९ विकेट गुमाएर ६४ रन बनायो । उसले अन्मित विकेट खेलेन । उसका लागि मोहम्मद हुसेन गद्दीले २१ र रामजन अली धुनियाँले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
बलिङमा रुपन्देहीका अजयकुमार चौहान र विप्रसन केसीले ३–३, कृष्ण कार्कीले २ तथा रमेश कुर्मीले १ विकेट लिए । खेलमा प्रज्वल थापा प्लेयर अफ द म्याच भए ।
यही फागुन २५ देखि भैरहवाको सिद्धार्थ रंगशाला, तिलोत्तमाको एक्स्ट्राटेक र लमही राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोटका लागि जिल्ला स्तरको छनोट खेल सुरु भएको हो ।
रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, पाल्पा, दाङ, बाँके र बर्दिया गरी ७ जिल्लाका टिम सहभागी छनोट खेलबाट प्रत्येक जिल्लाका उत्कृष्ट खेलाडी छनोट गरी लुम्बिनी प्रदेशको एउटा टीम बनाइने प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij