
बुधवार , फाल्गुण ७, २०८१
तिलोत्तमा, ७ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ स्थित बुटवल पब्लिक स्कूलको २२ औैं वार्षिकोत्सव कार्यक्रम तथा अभिभावक दिवस सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमकाबीच दिवस मनाइएको हो।
सो अवसरमा विद्यालयका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यालयको वार्षिकोत्सव कार्यक्रम तथा रिसर्च सेन्टरको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख (मेयर) रामकृष्ण खाणले नगरपालिकालाई शैक्षिक हब बनाउन विद्यालयका गतिविधि, विद्यार्थीको जागरुकता र नगरपालिकाको भूमिका रहने भएकाले त्यसतर्फ लाग्न आग्रह गरे । उनले पालिकाभित्रका संस्थागत विद्यालयले लगानी गरेर विद्यार्थीका लागि बनाएका संरचना, नविनतम अभ्यासले पालिकाको नाम उचो बनाउने भएकाले त्यसमा पालिका साथ दिन तयार रहेको बताए । ‘हाम्रो पालिकाभित्रका सामूदायिक विद्यालयको स्तरोन्नतिका लागि हामी लागिपरेका छौं’उनले भने–‘संस्थागत विद्यालयले आफै लगानी गरी स्तरोन्नति गरिरहनुभएको छ, यसमा खुसी छौं ।’
बुटवल पब्लिक स्कूलले निर्माण गरेको रिसर्च सेन्टर एण्ड स्पोर्टस एकेडेमीले विद्यालयमा अध्ययनरत विद्यार्थीको पढाइबाहेकको अन्य क्रियाकलापलाई समेत उजागर गर्न सघाउने विश्वास लिएको उनले बताए । अझ धेरै संस्थागत विद्यालय खुलेर पालिकालाई शिक्षा क्षेत्रमा अग्रणी बनाउन सकिने उनले बताए । उनले शैक्षिक गतिविधि र विद्यार्थीलाई आंच आउने गरी कसैले पनि कुनै नराम्रो क्रियाकलाप गर्न खोजे पालिकाले त्यसलाई कारवाहीको दायरामा ल्याउने बताए । विद्यालय जस्तो शान्ति क्षेत्रमा विद्यार्थीले शान्त वातावरणमा पढ्न पाउनुपर्ने उनले बताए ।
उक्त कार्यक्रममा विद्यालयका संस्थापक हेमलाल शर्मा भुसालले २०६० सालमा विद्यालय खोल्दा बाहिरी पक्षले गरेको नकारात्मक आक्रमणले यहाँसम्म आइपुग्न हौसला मिलेको बताए । उनले शिक्षा क्षेत्रमै केही गर्छु भनेर आफू लागिपरेकाले बिचल्लित नभइ विद्यालयलाई रिसर्च सेन्टर स्थापना गरुन्जेलसम्मको बाटोमा ल्याइपुर्याएको बताए ।
सो अवसरमा विभिन्न क्षेत्रबाट विद्यालयको उन्नयनमा योगदान पुर्याएकाहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा पत्रकारिताका माध्यमबाट विद्यालयलाई सहयोग गरेवापत पत्रकार टोपराज शर्मा, सन्जु पौडेल र कपिल ज्ञवाली सम्मानित भएका थिए । त्यस्तै विद्यालयका सल्लाहकार, रिसर्च सेन्टर निर्माणका लागि काम गरेका इन्जिनियर, शुभचिन्तकलगायतलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोख्रेल, तिलोत्तमा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष विष्णु बहादुर बराल क्षेत्री लगायतले बोल्दै बुटवल पब्लिक स्कूलले २२ औं वार्षिकोत्सव मनाइरहदा गरेको प्रगति प्रशंसनीय रहेको बताए । उनीहरुले यसरी विद्यार्थीका लागि गरिएको लगानीले राम्रै प्रतिफल दिने भन्दै विद्यार्थीलाई नेपालमै बस्ने वातावरण सिर्जना गर्न अभिभावक, शैक्षिक जगतले विशेष जोड दिनुपर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij