२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बलदेवको दावी : माओवादीले अब कसैको वैशाखी टेक्नु पर्दैन

बुधवार , फाल्गुण ७, २०८१

बुटवल, ७ फागुन । नेकपा (माओवादी केन्द्र) का सचिव चक्रपाणी खनाल ‘बलदेव’ले अब माओवादीले कसैको वैशाखी टेक्नु नपर्ने बताएका छन् । माओवादी केन्द्र बुटवल उपमहानगरको तेस्रो नगर अधिवेशनको उद्घाटन गर्दै खनालले माओवादीले स्थानीय तहको उपनिर्वाचनमा दोस्रो स्थान हासिल गरेको उल्लेख गर्दै २०८४ को निर्वाचन एक्लै लड्ने बताए । 

उनले २०६४ सालको निर्वाचनमा जनताले देखाए पनि आफ्नो कमजोरीका कारण काँग्रेस–एमालेसँग गठबन्धन गर्नुपर्ने अवस्था आएको भन्दै २०८४ को निर्वाचन एक्लै लड्ने उद्घोष गरे । ‘२०८४ को जस्तो अवस्थामा नै फर्कछौं भन्ने त नहोला । तर, ठूलो पार्टी बनिन्छ जनतामा जाऔं अहिले माओवादीप्रति जनताको आशा देखिएको छ’उनले भने ।

माओवादी नेतृत्वको सरकारले भ्रष्टाचार र बेथितिविरूद्ध अभियान सुरू गरेको उल्लेख गर्दै उनले वर्तमान सरकार भ्रष्टाचारीको संरक्षणमा लागिपरेको आरोप लगाए । भ्रष्टाचारीहरूको लहरो तान्दै जाँदा ठुलै घराना समेत पर्ने देखिएपछि जालझेल गरेर माओवादी नेतृत्वको सरकार ढालिएको उनले आरोप लगाए ।

पूर्वकृषिमन्त्री समेत रहेका नेता खनालले विचार मिल्ने शक्तिहरूलाई एकतामा आउन आग्रह गरे । छिन्नभिन्न हुँदा माओवादी शक्ति कमजोर भएको भन्दै उनले विचार मिल्ने शक्तिहरू एकता गर्नुको विकल्प नभएको बताए । ‘डा.बाबुराम भट्टराई र मोहन वैद्य तत्काल एकतामा आउने सम्भावना छैन । विप्लपजी लगायत साथीहरूसँग चाँडै एकता हुँदैछ’उनले भने ।

त्यस्तै पार्टीका स्थायी कमिटी सदस्य तथा पूर्व भूमिसुधार राज्यमन्त्री हकिकुल्ला खाँले एकताबद्ध भएर पार्टी निर्माणमा लाग्न नेता–कार्यकर्तालाई आग्रह गरे । उनले नेताहरू अब जनताको घरदैलोमा जानुपर्नेमा उनले जोड दिए । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी एक दर्जन नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।