
बुधवार , चैत्र ४, २०७७
बुटवल, ४ चैत ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकामा ऐतिहासिक सम्पदा स्थल जितगढी र सांस्कृतिक शहर पुरानो बुटवल (बटौली) लाई जोड्ने गरी संग्रहालय निर्माण सुरु भएको छ । यो ऐतिहासिक जितगढी किल्लामा भएको तत्कालिन नेपाल–अंग्रेज युद्ध ताकको झल्को दिने गरी निर्माण गर्न लागिएको महत्वपूर्ण संरचना हो ।
जितगढी (बटौली) युद्ध संग्रहालयका नाममा निर्माण हुने उक्त महत्वपूर्ण संरचनाको बुधबार एक समारोहकाबीच शिलान्यास भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उक्त संग्रहालयको शिलान्यास गरेका हुन् ।
राष्ट्रिय स्वाभिमान, पहिचान र शानको रुपमा रहेको जितगढीलाई बटौली पर्यटनको केन्द्रका रुपमा लिंदै सोही अन्तर्गतको एउटा कामका रुपमा संग्रहालयलाई लिइएको प्रमुख सुवेदीले बताए । प्रमुख सुवेदीले प्राचीन सहरले जन्माएर सबै उपशहरहरुलाई जोड्ने एउटै पर्यटन सर्किट बनाइने बताउँदै उनले बु्टवल चक्रपथ, तिनाउ–दानव कोरिडोर र छिमेकका पालिकाका सडक सञ्जालमा बुटवलको पर्यटन सर्किट जोडिने बताए ।
बुटवल उपमहानगरपालिकाले बनाएको एकीकृत शहरी विकास गुरुयोजनामा रहेको पर्यटन अन्तर्गतको एउटा कामका रुपमा संग्रहालय रहेको प्रमुख सुवेदीले बताए । बुटवलमा जनप्रतिनिधि निर्वाचित भएपछि बुटवलको आवधिक र दीर्घकालीन महत्वका योजना तय भएका छन् । अबको ५० वर्षपछिको बुटवलको जनघनत्वलाई अनुमान गरेर एकीकृत शहरी विकासको गुरुयोजना बनाइएको छ ।
बुटवल वडा नम्बर १ को भैरव मन्दिर नजिकै रहेको उपमहानगर करिब तीन कट्ठा जग्गामा उक्त संग्रहालय बन्नेछ । संग्रहालय चार तलाको बन्नेछ । पहिलो, दोस्रो, तेस्रो तलामा म्युजियम र चौथो तलामा परम्परागत खानाको परिकार समेत पाइने गरि क्याफे रहनेछ । यस्तै तल्लो तलामै बुटवललाई चिनाउने विभिन्न किसिमका सामान र मायाको चिनोहरु राखिएको शोभिनियर सप रहनेछ ।
करिब ६ करोड ८२ लाख ५० हजार दुई सय ५६ रुपैयाँ बराबरको लागतमा उक्त संग्रहालय निर्माण हुन लागेको हो । निर्माण कार्यका लागि उपमहानगर र निर्माण कम्पनीका बीचमा गत माघ १० गते सम्झौता भएको थियो ।
बुटवलको पहिचान झल्काउने, नयाँ पुस्तालाई जानकारी गराउने, आगन्तुक पाहुनाहरुलाई पनि झल्को देखाउने र बुद्धावलीको प्राचीन बटौली देखि हालको बृहत्त बुटवलको अवस्थाका बारेमा जानकारी गराउने खालको संग्रहालय निर्माण गर्न लागिएको बुटवल उपमहानगर उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।
शिलान्यास समारोहमा सहभागी नेपाली कांग्रेसका महासमिति सदस्य युवराज गिरी, नेकपा एमालेका बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थी लगायतले निर्माण कार्यको सफलताको कामना गर्दै उपमहानगरले गुरुयोजना कार्यान्वयनमा देखाएको तदारुकताको प्रशंसा गरे ।
निर्माण कम्पनी शिवशक्ति कन्स्ट्रक्शन कम्पनी प्रा.लि.का प्रतिनिधि इञ्जिनियर प्रभाकर लामिछानेले तोकिएको समय अगावै निर्माण सक्ने गरी काम गरिने प्रतिवद्धता व्यक्त गरे । उनले स्थानीय जनप्रतिनिधि, टोल विकास संस्था र स्थानीय समुदायको सहकार्य र समन्वयमा कामलाई प्रभावकारी बनाइने बताए ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले निर्माण कार्यका लागि आवश्यक पर्ने समन्वय र सहकार्यमा उपमहानगरले कुनै कसुर बाँकी नराख्ने भन्दै निर्माण कम्पनीको प्रतिवद्धताको प्रशंसा गरे ।
बुटवल वडा नम्बर १ का अध्यक्ष महेन्द्रप्रसाद लिगलले समुदायस्तरबाट सहयोग र सहकार्य रहने बताउँदै तोकिएको समयमै निर्माण कार्य सक्ने प्रतिवद्धताले आफुहरुलाई खुशी लागेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij