
बिहिवार , फाल्गुण ८, २०८१
भैरहवा, ८ फागुन । रुपन्देहीको भैरहवास्थित काशी नोबल एकेडेमीले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आईएसओ) प्राप्त गरेको छ । बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच एकेडेमीलाई आएसओको लागो प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण संस्थाको दक्षिण एसिया हेर्ने संस्था ग्लोबल क्वालिटी काउन्सीलले काशीलाई उक्त चिन्हसहित आईएसओ प्रमाणित गरेको हो ।
ग्लोबल क्वालिटी काउन्सीलका नेपालस्थित प्रतिनिधि सुदीप शर्माले काशीलाई विभिन्न दृष्टिकोणबाट अध्ययन गरेको बताए । ‘यो संस्थालाई हामीले विभिन्न दृष्टिकोणबाट अध्ययन गरेका छौं’उनले भने–‘यो क्षेत्रको अब्बल संस्थाको रुपमा छ, यसमा मुख्य भूमिका अभिभावकको हुन्छ ।’
विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेले काशी नोबल एकेडेमीले व्यवहारिक र गुणस्तरीय शिक्षामा जोड दिदै आएको बताए । शिक्षामा अन्तर्राष्ट्रिय अभ्यास अवलम्बन गरिरहेका छौं, प्राचार्य घिमिरेले भने । वि.सं. २०५२ सालमा स्थापना भएको काशी नोबल एकेडेमीमा हाल १ हजार ५ सय ४३ जना विद्यार्थी अध्ययनरत तथा १०३ जना शिक्षक/कर्मचारी कार्यरत रहेको उनले जानकारी दिए । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ जनकपथमा अवस्थित काशी नोबल एकेडेमी कक्षा ९ देखि १२ सम्म अध्यापन हुन्छ ।
लोगो हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले काशी नोबल एकेडेमीले आईएसओको मापदण्ड पूरा गरेकोमा विद्यालय बधाईको पात्र भएको बताए ।
‘गुणस्तरीय शैक्षिक वातावरण कायम गर्ने, विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने दिशामा यो एउटा महत्वपूर्ण कदम हुन सक्छ भन्ने विश्वास छ’उनले भने–आगामी दिनहरुमा पनि अझ माथिल्ला गुणस्तर मापदण्डहरुलाई प्राप्त गर्न सक्नुहोस् र यहाँहरुका पाइलाहरु असल व्यवस्थापन अभ्यास र असल शिक्षण सिकाईतर्फ लम्किदै जाउन् भन्ने शुभकामना व्यक्त गर्दछु ।’प्रमुख जिल्ला अधिकारी घिमिरेले शैक्षिक उन्नयनमा संस्थागत तथा निजी विद्यालयको भूमिका महत्वपूर्ण रहेको र यो प्रयासको प्रशंसा गर्नेपर्ने बताए ।
काशी नोबल एकेडेमीका अध्यक्ष ओम जैसीको अध्यक्षता तथा सह–प्राचार्य श्री रायमाझीको सञ्चालनमा भएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाकी शिक्षा अधिकृत जाह्नवी पाण्डे लगायतले बोलेका थिए ।
काशी नोबल एकेडेमीले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आईएसओ) प्राप्त गर्नु खुसीको विषय भएको विद्यालयका अभिभावक अरुण यादवले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij