
बिहिवार , फाल्गुण ८, २०८१
भैरहवा, ८ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ प्रभातपथस्थित नेपाल नालन्दा आवासीय माध्यमिक विद्यालयले आफ्नो २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
दिवसको अवसरमा बुधबार विद्यालय प्रांगणमा आयोजित समारोहमा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले आफ्ना छोराछोरीलाई बाहिर पढ्न पठाउने र यहाँको शिक्षा राम्रो भएन भनेर गुनासो गर्नु जायज नभएको बताइन् । उनले सिद्धार्थनगर नगरपालिकामा शिक्षाको विकासका लागि सबै एकजुट भइ अघि बढ्नुपर्नेमा जोड दिइन् ।
विद्यालयका प्राचार्य युवराज पोख्रेलले विद्यालयले पढाईका साथै अतिरिक्त क्रियाकलापलाई पनि जोड दिदै आएको बताए । ‘विगत भन्दा अहिले पक्कै पनि शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधारमा सुधारलगायत विद्यालयको दिनप्रतिदिन प्रगति भइरहेको छ, ’प्राचार्य पोख्रेलले भने ।
नेपाल नालन्दा आवासीय माविका अध्यक्ष ई. राजेश ढकालको अध्यक्षता, विद्यालयका प्रबन्ध निर्देशक युवराज पाण्डेको स्वागत तथा कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रतिका बेल्बासे र कक्षा ९ मा अध्ययनरत कृतिका भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिका–९ का वडा सदस्य बसन्त भट्टराई लगायतले बोलेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य तथा नाटक प्रस्तुत गरेका थिए ।
आफ्नो २९ औं वार्षिकोत्सवको पूर्व संध्यामा नेपाल नालन्दा आवासीय माविले विद्यालयमा खाना महोत्सव (फूड फेस्टिबल) आयोजना गरेको थियो । वि.सं. २०५३ सालमा स्थापना भएको नेपाल नालन्दा आवासीय माविमा हाल ६ सय बढी विद्यार्थी अध्ययनरत छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij