२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

जसपाको नवलपरासी जिल्ला समिति गठन

बिहिवार , फाल्गुण ८, २०८१

परासी, ८ फागुन । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले पश्चिम नवलपरासीमा संगठन विस्तार गरेको छ । जसपाले बुधबार परासीमा आयोजित पार्टीको प्रारम्भिक जिल्ला भेला एवं पार्टी प्रदेश कार्यक्रमबाट राधेश्याम यादव (अहिर) को संयोजकत्वमा २५ सदस्यीय तदर्थ समिति गठन गरेको हो । 

पार्टीको तदर्थ जिल्ला समन्वय समितिमा अर्जुन प्रसाद यादव, समी उल्लाह अन्सारी, गठई साहनी, रणदीप यादव, गोविन्द हरिजन, इमरान धुनिया, प्रमोद पाण्डेय, हरि प्रसाद सहानी लगायत रहेका छन् ।

पार्टी भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि जसपाका राजनीतिक समिति सदस्य एवं लुम्बिनी प्रदेशका इञ्चार्ज मनिकर कार्कीले जनता समाजवादी पार्टी समाजमा विद्यमान सबै प्रकारका शोषण र उत्पीडनको अन्त्य गर्दै समतामूलक समाज निर्माणको लक्ष्य लिएको निर्माण भएको बताए । उनले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन स्थापित गर्ने तथा आर्थिक एवं सामाजिक न्यायमार्फत समाजवादको आधार तय गर्नुपर्ने धारणा व्यक्त गरे । सबैको हकअधिकार र पहिचानस्थापित गरी सम्मानपूर्वक बाँच्न पाउने अवस्थाको सुनिश्चितताका लागि नेपाली परिवेश सुहाउँदो समाजवादी व्यवस्था अपरिहार्य हुने भएकाले त्यस्तो समाजवादको मार्गचित्र जसपाले ल्याउने उनले बताए ।

त्यसै गरी कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य एवं लुम्बिनी प्रदेश सह–इञ्चार्ज नबिन कुमार सुनुवारले जनता समाजवादी पार्टी नयाँ युगको आवश्यकताले जन्मिएको लोकतान्त्रिक पार्टी भएको हुँदा यसले सबै उत्पीडित जाति, समुदाय र वर्ग हकअधिकार र पहिचानका लागि निरन्तर संघर्ष गर्ने बताए । उनले समाजवादी गन्तव्यले नै उत्पीडित समुदायको उत्थान हुने हुँदा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक संसदमार्फत त्यो गन्तव्यमा पुग्नुपर्ने बताए ।

IMG_5485.jpg

कार्यक्रममा नवगठित तदर्थ समितिका संयोजक राधेश्याम यादव (अहिर) ले एक महिनाभित्र बृहत जिल्ला भेला आयोजना गरी पार्टीको जिल्ला समितिलाई पूर्णता दिने र जिल्लाका सबै स्थानीय तहहरुमा संगठन निर्माणको कार्यलाई तीव्रताका साथ सञ्चालन गरिने बताए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १५ जना जसपामा प्रवेश गरेका छन् ।