
बिहिवार , फाल्गुण ८, २०८१
भैरहवा, ८ फागुन । रुपन्देही नागरिक समाज, सिद्धार्थनगरले भैरहवाकी प्रकृति लम्सालको मृत्युको कारण र दोषी पत्ता लगाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग गरेको छ । समाजले आगामी दिनमा यस्ता घटना दोहारिन नदिन तथा नेपाल र नेपालीलाई अपमान हुने पनि कार्य हुन नदिन सचेत रहन कुटनीतिक पहलका लागि सरकारको ध्यानाकर्षण गराएको हो । बिहीबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानार्कषण पत्र बुझाउँदै समाजले यस्तो माग गरेको हो ।
समाजका अध्यक्ष अमित कुमार गुप्ता र सचिव तुल्सा शर्मा वाग्लेद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘भारतको उडिसा राज्यको भुवनेश्वरस्थित केआईटी युनिर्भसिटीमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु भएको र सो मृत्युका विषयमा नेपाली विद्यार्थीहरुले प्रशासन समक्ष निवेदन दर्ता गर्दा कलेज प्रशासनबाट विद्यार्थीहरुमाथि गरिएको अमानवीय व्यवहार, नेपाल र नेपालीमाथि नै अपमानजनक शब्द प्रयोग गरेकोप्रति रुपन्देही नागरिक समाजकोतर्फबाट खेद व्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामना र परिवारप्रति समवेदना प्रकट गर्दछौं ।’
राष्ट्रसेवक कर्मचारीमाथि आक्रमण गर्ने दोषीलाई कारवाही गर्न माग
रुपन्देही नागरिक समाज, सिद्धार्थनगरले राष्ट्रसेवक कर्मचारीमाथि आक्रमणमा संलग्न दोषीहरुलाई कडा कारवाही गर्न सरकारसँग माग गरेको छ । समाजले प्रजिअ घिमिरेमार्फत प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो माग गरेको हो । यस्ता घटनाबाट सार्वजनिक सेवा प्रवाहमा नकारात्मक असर पर्न गइ जनताको घरदैलोको सरकार स्थानीय तहप्रति जनताको विश्वास घट्दै जाने भन्दै समाजले चिन्ता व्यक्त गरेको छ । यसबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा नै नकारात्मक प्रभाव पार्ने समाजको ठहर छ ।
तनहुँको बन्दीपुर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्षले कर्मचारीमाथि गरेको निर्घात आक्रमण, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ का वडा सचिवमाथि जनप्रतिनिधिबाट भएको आक्रमण, धनुषाको विदेह नगरपालिकामा नगरप्रमुख र नगरप्रमुखका छोराद्वारा प्रमुख प्रशासकीय अधिकृतमाथि गरेको अमानवीय व्यवहार, रुपन्देहीको रोहिणी गाउँपालिका–२ का वडाअध्यक्षबाट शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुखमाथि भएको दुव्र्यवहार, कतिपय पालिकाका जनप्रतिनिधिहरुबाट राष्ट्रसेवक कर्मचारीमाथि भएका आक्रमण र दुव्र्यवहार भइरहेको समाचार आइरहदा राष्ट्रसेवक कर्मचारीहरुको मनोबल घटाएको छ, ’ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा रुपन्देही नागरिक समाज, सिद्धार्थनगरका पूर्वअध्यक्ष क्याप्टेन रेशम के.सी., कोषाध्यक्ष ईश्वरी प्रसाद पाण्डेय लगाायतको उपस्थिति थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij