२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ लुम्बिनीको प्रदेशस्तरीय प्रशिक्षण भैरहवामा

बिहिवार , फाल्गुण ८, २०८१

भैरहवा, ८ फागुन । नेपाली काँग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेशको आयोजनामा प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम हुने भएको छ । महासंघले यही फागुन ९ र १० गते (दुई दिन) रुपन्देहीको भैरहवामा उक्त कार्यक्रम गर्ने भएको हो । 

भैरहवास्थित पटवा बैंक्वेटमा हुने कार्यक्रमको शुक्रबार (भोली) बिहान नेपाली काँग्रेसका उपसभापति, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठा संयोजक तथा पूर्वउपप्रधानमन्त्री पूर्ण बहादुर खड्काले उद्घाटन गर्नुहुने आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ केन्द्रीय कार्यसमितिका अध्यक्ष ओमबहादुर घर्तीमगरका अनुसार प्रशिक्षणमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाबाट २ सय जना प्रशिक्षार्थीहरुको सहभागीता रहनेछ । 
‘विभिन्न सातवटा विषयमा सातजना प्रशिक्षकले सहजीकरण गर्नुहुनेछ’उनले भने–‘लुम्बिनी प्रदेशभित्रका जिल्ला प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, लुम्बिनी प्रदेश केन्द्रीय सदस्य र प्रदेश कार्यसमितिको क्षमता अभिवृद्धि एवं सशक्तिकरण प्रदेश प्रशिक्षक प्रशिक्षण कार्यक्रम हुँदैछ ।  प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुले पालिका र वडास्तरमा पुगेर अरुलाई प्रशिक्षण दिने उनले जानकारी दिए । 

‘नयाँ पुस्ताको मनोविज्ञानलाई आत्मसात गर्दै उनीहरुलाई लोकतान्त्रिक सिद्वान्त र आचरणका आधारमा प्रशिक्षित गरी सक्षम, अनुशासित, कर्मशील, उद्यमशील, इमानदार, नैतिकवान, असल मानिस, असल लोकतन्त्रवादी र असल कांग्रेसका रुपमा विकास गर्नु आवश्यक छ’उनले भने– ‘यही आवश्यकतालाई अनुभव गरी महासंघले प्रदेश, जिल्ला, पालिका र वडा तहसम्म (आदिवासी जनजाति) जागरण अभियानमार्फत प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्न लागिएको छ ।’

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेशकी अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य माया पुनले प्रशिक्षण कार्यक्रममा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा आबद्ध विभिन्न जातीय संगठनसहित लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने अन्य भातृ संगठनका नेता–कार्यकर्ताहरु पनि सहभागी हुने जानकारी दिइन् । 

‘पहिचान, पहुँच र प्रतिनिधित्व संगठन, व्यवस्थापन र प्रशिक्षण’ भन्ने मूल नाराका साथ कार्यक्रम हुन लागेको नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष नर बहादुर थापा (सुरज) ले बताए ।