२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सियारीमा हत्या गरि फालिएको अबस्थामा महिलाको शव फेला

बिहिवार , फाल्गुण ८, २०८१

रुपन्देही, ८ फागुन । रुपन्देहीको सियारीमा एक महिलाको हत्या गरेर फालिएको अबस्थामा शव फेला परेको छ । बेथरी बेलवास सडक खण्डको सियारी २ भगदरीस्थित सडक छेउको खेत किनारामा परालले छोपिएको अवस्थामा ती महिलाको शव फेला परेको प्रहरीले जनाएको हो । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं प्रवक्ता सुरज कार्कीले हत्या गरि परालले छोपेको अबस्थामा दाङको लमही नगरपालिका ७ की संगिता चौधरीको शव फेला परेको बताए ।  उनका अनुसार ढुङगाले बायातर्फको कन्चटमा हानेर हत्या गरेर फालिएको अबस्थामा प्रहरीले शव फेला पारेको हो । 

डिएसपि कार्कीले बुटवल ११ कालिकापथमा भाडामा बसेर दैनिक ज्यालादारी काम गर्दै आएकी चौधरीको हत्या गरेर परालले छोपेको अबस्थामा प्रहरीले दिउसो शव फेला पारेको बताए ।  

चौधरीको शव पोष्टमाटमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ । चौधरीलाई काम लगाउने ठेकेदार र उनको परिवार सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान जारी रहेपनि अहिले सम्म कसले र किन हत्या गरेको हो भन्ने पत्ता लगाउन नसकिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले मोबाइल बरामद गरेको छ ।