२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनीमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु हुँदै

शुक्रवार , फाल्गुण ९, २०८१

अर्घाखाँची, ९ फागुन । लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु हुँदैछ । सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु गर्न लागेको हो ।

मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार (आज) आफूले अध्ययन गरेको अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । एकसाथ १७ वटा विद्यालयबाट अभियानको शुभारम्भ गरिदैछ । ‘सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन यो अभियान आवश्यक परेको हो’मुख्यमन्त्री आचार्यले भने–‘७१ प्रतिशत बालबालिकाको रोजाइ बन्न सफल सामूदायिक विद्यालयप्रति अझै भरोसा र विश्वास बढाउन जरुरी छ ।’

सार्वजनिक विद्यालयको शाख र गरिमालाई कायम गर्न सबै सरोकारवालाको सामूदायिक विद्यालयप्रतिको जवाफदेहीता वृद्धि गर्न प्रदेश सरकारको नीति कार्यक्रममा मेरो विद्यालय मेरो दायित्व सामाजिक अभियान समावेश थियो । 

सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले प्रदेशभरका सामूदायिक विद्यालयलाई लक्षित गरी यो अभियान सञ्चालन गरिन थालेको जानकारी दिए । यो अभियानमा सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । गत वर्ष एसईईको नतिजा कमजोर आएपछि सुधारका लागि थालिएको यो अभियानले विद्यार्थीमा गुणस्तरीय सिकाई अभिवृद्धि गर्न पूर्वविद्यार्थीको योगदानलाई समेट्ने विश्वास गरिएको छ । आफूले पढेको विद्यालयका बारेमा जानकारी लिन, पूर्व र वर्तमान विद्यार्थीबीच अन्तरक्रिया गरी शैक्षिक अवस्था सुधार्न यो अभियान प्रभावकारी हुने विश्वास लिइएको छ । 

लुम्बिनी प्रदेशमा ६ हजार ३ सय ४० विद्यालय छन् । जसमध्ये ४ हजार पाँचसय ३१ सामूदायिक विद्यालय छन् । यी विद्यालयमा अध्ययनरत १२ लाख ८८ हजार २ सय ९८ विद्यार्थीमध्ये ९ लाख २५ हजार ६ सय २९ जना विद्यार्थी सामूदायिक विद्यालयमा अध्ययनरत छन् ।