२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थनगरमा कृषकलाई अनुदानमा प्रांगारिक मल वितरण

शुक्रवार , फाल्गुण ९, २०८१

भैरहवा, ९ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कृषकलाई प्रांगारिक मल वितरण सुरु गरेको छ । खेतीबालीमा रासायनिक मलको प्रयोग बढ्दा जमिनमा अम्लियपन बढ्दै गएपछि त्यसलाई कम गर्न कृषकलाई अनुदानमा प्रांगारिक मल वितरण सुरु गरेको हो । 

खास गरी रासायनिक मलको प्रयोगले उब्जाउ कम हुने, कतिपय स्थानमा खेती नै नहुने समस्या कम गरी उर्वराशक्ति ह्रास हुन नदिन तथा माटोलाई मर्न नदिन, अम्लीयपन बढ्नबाट रोक्न र उत्पादन बढाउन प्रांगारिक मलको प्रयोग बढाउने उदेश्यले अनुदानमा प्रांगारिक मल वितरण सुरु गरिएको नगरप्रमुख (मेयर) इश्तियाक अहमद खाँले जानकारी दिए । उनले किसानले रासायनिक मल र विषादीको जथाभावी प्रयोग गर्दा पिएच मानसँगै नाईट्रोजन, फस्फोरस र पोटास पनि अति न्यून हुने भएकाले नगरपालिकाले प्रांगारिक मललाई प्रोत्साहन गरेको बताए ।

नगरपालिकाले वितरण गर्न लागेको यो मल खास गरी कौसी खेती, करेसाबारी, फलफूलका विरुवाहरुमा बढी लाभदायी हुने नगरपालिकाका कृषि शाखा प्रमुख योगेन्द्र प्रसाद यादवले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा नगरपालिकाले ७ सय ७२ बोरा प्रांगारिक मल वितरण गर्नेछ ।

२५ किलोग्रामको १ बोरालाई बजारमा प्रतीकेजी ३२ रुपैयाँ पर्छ । नगरपालिकाले कृषकलाई १६ रुपैयाँमा वितरण गरिहेको हो । यो मल झारपात, खुखुराको सुली जस्ता फालिएका फोहोरबाट बन्ने भएकाले अर्गानिक खेतीको लागी बढी उपयोगी रहेको उनले बताए । कम जग्गा भएका र कौसी खेती गर्नेलाई लक्षित गरी मल वितरण गरिएको हो ।