२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मुख्यमन्त्री आचार्य भन्छन्–जता फर्केर हेर्दा पनि देखिने काम प्रदेशकै हुन्

शनिवार , फाल्गुण १०, २०८१

अर्घाखाँची, १० फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक बर्षको बजेटमा साना आयोजनालाई कटौती गर्ने गरी बजेट निर्माण गर्ने बताएका छन् ।

नेकपा (एमाले) ले अर्घाखाँचीको शितगंगा नगरपालिका–२ सितापुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले साना योजनालाई निरुत्साहित गर्दै बजेट निर्माण गर्ने तयारी सरकारले गरेको बताएका हुन् । ‘साना आयोजनालाई निरुत्साहित गर्ने गरी तयारी गर्दै छौं’उनले भने–‘उपलब्धि देखिने आयोजना सरकारको प्राथमिकतामा पर्छन् ।’

प्रदेश सरकारले मझौला खालका आयोजनालाई सम्पन्न गर्ने गरी बजेटमा सम्बोधन गर्ने उनले विश्वास दिलाए । प्रदेश स्थापना भएपछि विकास निर्माणको कामले गति लिएको बताउदै उनले यी उपलब्धि देख्न नसक्नेहरुले गलत भास्य खडा गर्न खोजेको बताए । ‘संघीयताले विकासको ढोका खोलेको छ । देख्न, हेर्न र बुझ्न सक्नुहुन्छ’उनले भने–‘म सप्रमाण भन्न सक्छु जता फर्केर हेर्दा पनि सञ्चालन भइरहेका आयोजना प्रदेशकै हुन् । प्रदेशको काम छैन भनेर गलत भास्य खडा गरिदैछ । किमार्थ त्यस्तो होइन ।’ 

शितगंगा नगरपालिका भूगोलको रुपमा ठुलो हुँदा सेवा प्रवाहमा कठिनाइ भएको र समस्या समाधानका लागि सेवा केन्द्र स्थापनाका लागि पहल गर्ने उनले बताए । ‘समस्याको बारेमा जानकारी छ । आशा भरोसालाई सकेसम्म सम्बोधन गर्नेछौं’उनले भने–प्रदेश सरकारले हरेक क्षेत्रलाई सम्बोधन गरेको छ ।’ त्यस्तै उनले राजनीतिक अस्थिरताले समस्या सृजना भएको र अहिले राजनीतिक स्थायीत्व कायम भएकाले विकास निर्माणको कामले गति लिएको बताए ।