२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

प्रकृति लम्साललाई न्याय दिन माग गर्दै भैरहवामा निकालियो र्‍याली

शनिवार , फाल्गुण १०, २०८१

  • 811
    Shares
  • 811
    Shares
  • भैरहवा, १० फागुन । भारतमा मृत्यु भएकी भैरहवाकी विद्यार्थी प्रकृति लम्साललाई न्याय दिनुपर्ने माग गर्दै शुक्रबार भैरहवामा शान्तिपूर्ण विरोध सभा तथा र्‍याली निकालिएको छ ।  सिद्धार्थ सञ्जाल, रुपन्देहीको आह्वानमा र्‍यालीसहित प्रदर्शन गरी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापनपत्र बुझाइएको सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।

    भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत २० वर्षीय लम्साल त्यहाँको होस्टेलमा मृत भेटिएकी थिइन् । उनको रहस्यमय मृत्यु भएकाले निष्पक्ष छानबीन गर्नुपर्ने र दोषीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग गरिएको छ । लम्साल रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८, बैंक कलोनी निवासी हुन् ।

    भैरहवाको देवकोटाचोकमा जम्मा भएका स्थानीय बासिन्दा र उद्योगी–व्यवसायीहरुले बैंकरोड, मिलनचोक हुँदै जिल्ला प्रशासनसम्म र्‍याली निकालेका थिए । उनीहरुले प्रकृतिलाई न्याय दिनुपर्ने माग गरे । व्यवसायी विजय पाण्डेले कुनै पनि बहानामा अनुसन्धान प्रभावित हुन नहुने जनाउँदै त्यसका लागि नेपाल सरकारले पहल गर्नुपर्ने माग गरे । 

    प्रकृतिको न्याय माग्दै जिल्ला प्रशासन कार्यालय पुगेका उनीहरुले दुई देशको सम्बन्ध प्रगाढ पारौं, दोषीउपर कारवाही गर, केआईआईटी विश्वविद्यालयमाथि छानबीन गर, पीडित परिवारलाई क्षतिपूर्ति देउ, नेपाली विद्यार्थीलाई शान्तिपूर्ण रुपमा पढ्ने व्यवस्था गर, मानवअधिकारको सम्मान गर लगायत लेखिएका प्लेकार्ड बोकेका थिए ।

    र्‍यालीमा चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) सिद्धार्थ होटल संघ नेपाल, जेसीआई सिद्धार्थ नेपाल, जेसीआई सिद्धार्थ लेडी नेपाल लगायत विभिन्न संघ–संस्थाका साथै स्थानीयबासीको सहभागीता थियो ।

    480574846_559668133768561_2261958178521573574_n.jpg

    र्‍यालीसहित जिल्ला प्रशासन कार्यालय पुगेका उनीहरुले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै सरकारले प्रकृतिको न्यायका लागि पहल गर्नुपर्ने माग गरे । प्रजिअ घिमिरेले घटना घटेको जानकारी पाउनेबित्तिकै सरकारले पहल थालेको बताए । उनले न्यायका लागि सरकारले निरन्तर पहल गरेको र अब पनि गरिरहने जनाए ।