२०८३, आषाढ ३२ गते

Jul 16 2026 | २०८३, आषाढ ३२ गते

प्रज्ञा प्रतिष्ठानमार्फत भाषा, संस्कृतिको खोज अनुसन्धानलाई गति दिनेछौं : मुख्यमन्त्री आचार्य

शनिवार , फाल्गुण १०, २०८१

  • 733
    Shares
  • 733
    Shares
  • रुपन्देही, १० फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक भाषा, कला, संस्कृति, सभ्यताको उर्वर भूमि भएको चर्चा गर्दै प्रदेश सरकारले सबै भाषा, कला, संस्कृति तथा सभ्यताको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्न प्रज्ञा प्रतिष्ठानले सम्बोधन गरिने बताएका छन् ।

    लुम्बिनी प्रदेश वाङ्मय प्रतिष्ठान नेपालको चौथो अधिवेशन तथा आठौं साधारणसभाको शनिबार रुपन्देहीको बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले साहित्य क्षेत्र समाजको ऐना भएको, विकृति, विसंगतिकाविरुद्ध साहित्यक कलमको माध्यमबाट खबरदारी गर्दै खोज अनुसन्धानको क्षेत्रमा प्रज्ञा प्रतिष्ठानले भूमिका खेल्ने बताएका हुन् । लुम्बिनी प्रदेश सरकारले प्रज्ञा प्रतिष्ठान गठन प्रक्रिया अघि बढाएको, विधेयक तर्जुमा निर्माणको काम भइरहेको उनले जानकारी दिए । भाषा, साहित्य, कला, संस्कृति लगायत सम्पदाहरुको अध्ययन अनुसन्धान अघि बढाउन प्रज्ञा प्रतिष्ठान गठन गर्न थालिएको हो ।

    ‘प्रज्ञा प्रतिष्ठान गठनको लागि मस्यौदा तयार भएको छ । मन्त्रीपरिषद् बैठकबाट सैद्वान्तिक सहमति दिएका छौं । बर्खे अधिवेशनमा प्रज्ञा प्रतिष्ठान पारित हुन्छ’उनले भने–‘अर्थ र सामाजिक विकास मन्त्रालयबाट पनि सहमति लिने काम अघि बढेको छ । अब असार महिनासम्म नियमावली बनाएर कार्यान्वयनमा लैजान्छौं ।’ 

    मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश ज्ञानको भण्डार भएको बताए । उनले नयाँ पुस्तालाई लेखन कार्यमा आकर्षित गर्न जरुरी रहेको धारणा राखे । उनले मुलुकको धर्म, संस्कृति र राष्ट्रियता जोगाउन कलमको माध्यमबाट योगदान पुर्याएको भन्दै योगदानको उच्च कदर गरे ।

    प्रतिष्ठानका अध्यक्ष ऋषि आजादको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष ऋषि आजादले  भाषिक नीति, अनेकतामा एकता अवलम्बन गरुको, नेपालीय भाषा, कला, साहित्य र संस्कृति संरक्षण सबैको प्राथमिकमा पर्न जरुरी रहेको धारणा व्यक्त गरे । उनले भने–‘मुख्यमन्त्री आचार्यको सरलताले राहतको अनुभुति गरेका छौं । समाजलाई आडम्बर र अहंकारले बिगार्दैछ । यसलाई रोक्न जरुरी छ ।

    कार्यक्रममा संस्कृति रत्न सम्मानबाट डा. गितु गिरी, डा. हरिप्रसाद तिमिल्सिना र डा. गोविन्द आचार्यलाई सम्मान गरिएको छ । त्यस्तै शीत काव्य रत्न सम्मान कृष्णप्रसाद केसीलाइ सम्मान गरिएको छ । त्यसै गरी उत्कृष्ट जिल्ला अर्घाखाँची र रुपन्देही वाङ्मय प्रतिष्ठान भएका छन । उनीहरुलाई कदरपत्र प्रदान गरिएको छ । 

    कार्यक्रममा संस्कृति भोजपुरी भाषामा डीआर पन्थी, गुरुङ्ग भाषामा भिम गुरुङ, नेपाल भाषामा हरिसुन्दर वासी, संस्कृत भाषामा कृष्णप्रसाद कोइराला, उर्दु भाषामा सहर अलि, अवधि भाषामा शिव प्यासी, थारु भाषामा राजकुमार थारु, सल्लाहकार डा. हरि तिमिल्सिना, प्रा. डा. गितु गिरी, डा. गोविन्द आचार्य, प्रगतिशील लेखक संघ रुपन्देहीका अध्यक्ष कृष्ण गाउँले, साहित्यकार डिल्लीराज भट्टराई, पत्रकार डा. बालकृष्ण चापागाईं, जंगबहादुर शाह, प्राध्यापक डा.कपिलदेव लामिछाने लगायतले बोलेका थिए ।

    वरिष्ठ उपाध्यक्ष हरिप्रसाद पोख्रेलको धन्यवाद ज्ञापन तथा उपाध्यक्ष सृजना ज्ञवालीको स्वागतमा भएको कार्यक्रमको सहजीकरण रुपन्देही अध्यक्ष पुरुषोत्तम पाण्डेले गरेका थिए ।