२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

तिलोत्तमामा १०८ फिट अग्लो त्रिशुल स्थापना

शनिवार , फाल्गुण १०, २०८१

बुटवल, १० फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित पश्चिम पहुनीमा १०८ फिट अग्लो त्रिशुल स्थापना गरिएको छ । मोक्षधाम सेवा आश्रमले विश्वको ठूलो त्रिशूल स्थापना गरिएको दावी गरेको छ ।
मोक्षधाम सेवा आश्रमको प्रांगणमा स्थापित यो त्रिशुलमा भगवान शिवको डमरु समेत समावेश गरिएको छ ।

शुक्रबार भजन–कीर्तनसहित त्रिशुलको स्थापना गरिएको हो । लुम्बिनी इन्जिनियरिङले त्रिशुलको निर्माण निःशुल्क रूपमा सम्पन्न गरेको हो भने आवश्यक सामग्री मोक्षधाम सेवा आश्रमले उपलब्ध गराएको थियो ।
सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिका–६ का वडाध्यक्ष गणेश पाठकले मोक्षधाम सेवा आश्रम हिन्दू धर्मको सबैको साझा आस्थाको केन्द्र भएको बताए ।

मोक्षधाम सेवा आश्रमका कार्यवाहक अध्यक्ष टीकाराम पाण्डेले त्रिशुलको शिवरात्रिका दिन (फागुन १४ गते) विशेष पूजासहित औपचारिक उद्घाटन गरिने जानकारी दिए । उनले मोक्षधाम सेवाको अवधारणा २०६८ सालमा सुरु भइ विभिन्न धार्मिक तथा सामाजिक संरचनाहरू निर्माण भइरहेको बताए ।

हालसम्म आश्रमले राधाकृष्ण मन्दिर, सत्संग हल, द्वादश ज्योतिर्लिंगसहितको विश्वनाथ मन्दिर, होवनकुण्ड, अमृत कुण्ड, बाल तथा वृद्धाश्रम, मुक्तिनाथ मन्दिर तथा सभा हल निर्माण गरिसकेको छ । कोषाध्यक्ष नारायण बन्जाडेले धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको मोक्षधाम सेवा आश्रमले नियमित रूपमा धार्मिक अनुष्ठान, सत्संग तथा सामाजिक गतिविधि सञ्चालन गर्दै आएको बताए । उनले रुपन्देही जिल्लालाई धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्यसहित यस धामलाई पृथ्वीमै स्वर्गको अनुभुति दिने संरचनाका रूपमा विकास गरिने योजनामा आश्रमले कार्य गरिरहेको बताए ।

१०८ फिट त्रिशुलको स्थापनासँगै बद्रीनाथ, द्वारिका मन्दिरको इस्टिमेट आएको र ती संरचनाहरू निर्माण प्रक्रियामा रहेको सह–सचिव आनन्द भगवत श्रेष्ठले बताए ।