२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

विश्व रोटरी दिवस मनाइँदै

शनिवार , फाल्गुण १०, २०८१

भैरहवा, १० फागुन । आइतबार १२० औं विश्व रोटरी दिवस । २३ फेब्रअरीका दिन मनाइने यो दिवस रुपन्देहीमा पनि विविध कार्यक्रम गरी मनाउने तयारी भएको रोटरी इन्टरनेशन एरिया–५ ले जनाएको छ । 
‘सम्पदाको विकास’ भन्ने नाराका साथ आइतबार बुटवलस्थित गणेशस्थान मन्दिरदेखि जीतगढीसम्म हेरिटेज वाकको आयोजना गरिएको आयोजकले जनाएको छ । दिवसको पूर्वसन्ध्यामा रोटरी क्लबहरुले गरेका मुख्य कामहरुको जानकारी दिने उद्देश्यले शनिबार पत्रकार सम्मेलन गरिएको छ ।

सन १९०५ मा अमेरिकामा रोटरी इन्टरनेशनलको स्थापना गरी हाल विश्वका २०८ देशमा सामाजिक काममा अग्रसर भएको कार्यक्रम संयोजक तथा रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष ओम जैसीले जानकारी दिए । सन् १९५९ मा नेपालमा रोटरी क्लबको स्थापना भएको र यसले विशेष गरी शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरण, पब्लिक इमेज, युथ, महिला सशक्तिकरण लगायतका क्षेत्रमा काम गरिरहेको अध्यक्ष जैसीले जानकारी दिए । एरिया–५ अन्र्तगत कावासोतीदेखि धनगढीसम्म ३७ वटा क्लब आबद्ध रहेको उनले बताए ।

कार्यक्रममा रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष दिनेशराज रेग्मीले विश्वमा पोलियो निर्मूल गर्नमा रोटरीको ठ्लो योगदान रहेको बताए । रुपन्देहीमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, आम्दा अस्पताल लगायतका अन्य स्वास्थ्य चौकीहरुमा अत्याधुनिक मेडिकल उपकरण तथा अक्सिजन प्लान्ट सहयोग, मुटुका बिरामीका लागी क्याथ ल्याब सेवा, अनाथ बालबालिका तथा वृद्धहरुलाई खाना तथा कपडा उपलब्ध गराइरहेको बताए । 

त्यस्तै स्वास्थ्य चेकजाँच, हरेक वर्ष वातावरण संरक्षणको लागि १ हजार भन्दा बढी विरुवा लगाउने र रेखदेख गर्ने, विभिन्न सरकारी विद्यालयहरुमा आवश्यकता अनुसार छात्रा शौचालय निर्माण लगायत कामहरु यस क्षेत्रका रोटरी क्लबहरुले गरेको उनले बताए ।

महिला क्षमता अभिवृद्धि कार्यक्रम अन्र्तगत पार्लर, सिलाई, बुनाइ, अचार बनाउने लगायत तालिम सञ्चालन, विभिन्न विद्यालय तथा कलेजहरुमा शिक्षक तथा अभिभावकहरुबीच मानसिक स्वास्थ्य सचेतना कार्यक्रम रोटरीले गर्दै आइरहेको रोटरी क्लब अफ क्यापीटल बुटवलका अध्यक्ष विजय खनालले बताए  । जसबाट समाजमा आत्महत्या तथा अन्य त्यस्तै कार्यहरु रोक्न मद्दत पुगेको उनले बताए ।

रोटरी क्लवहरुले यूथसँग रोटरी कार्यक्रम सञ्चालन गरी विद्यार्थी तथा युथहरुलाई राम्रो काम गर्नको लागि प्रोत्साहन गर्दै आइरहेको, हरेक वर्ष विभिन्न सरकारी स्कूलहरुमा गइ गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय पोशाक, स्टेशनरी सामग्री, खेलकुदका सामग्री प्रदान, विभिन्न गाउँपालिका तथा सामुदायिक अस्पतालहरुमा एम्बुलेन्स वितरण लगायतका कामहरु गर्दै आइरहेको रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष शिव ज्ञवालीले बताए ।