
शनिवार , फाल्गुण १०, २०८१
भैरहवा, १० फागुन । रुपन्देही र दाङ प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय छनोट खेलमा फाइनल प्रवेश गरेका छन् । छनोटअन्तर्गत शनिबार भएका दुई सेमीफाइनल खेलमा रुपन्देहीले बर्दियालाई १ सय ४२ रन र दाङले पश्चिम नवलपरासीलाई ८ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । यी दुई टीमबीच आइतबार उपाधिका लागि प्रतिष्पर्धा हुनेछ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको रुपन्देहीले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा २ सय ४१ रनको बलियो योगफल खडा गर्यो । उसका लागि विप्रशन केसीले ४८, कृष्ण कार्कीले ४२, मनिष थापाले ३०, प्रज्वल थापाले २०, देव खनालले १९, मिर्नाल गुरुङले १६ र सन्देश थापाले १५ रनको योगदान गरे । बलिङमा बर्दियाका निर्मल गुरुङले ३, नितेश न्यौपाले र आकाश खत्रीले २–२ तथा सौगात खत्री र ट्राभिस जैशीले १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको बर्दिया ३२ ओभर ५ बलमा ९९ रन बनाउँदा अलआउट भयो । उसलाई सस्तैमा रोक्न बलिङमा रुपन्देहीका अजय चौहान र विप्रशन केसीले ३–३, रमेश कुर्मीले २ तथा कृष्ण कार्की र सन्देश थापाले १–१ विकेट लिए ।
बर्दियाका नितेश न्यौपानेले २५, ट्राभिस जैसीले १५ र सौगात खत्रीले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिमको फाइनल यात्रा टुंगियो । खेलमा विप्रशन केसी प्लेयर अफ द म्याच भए ।
यस्तै, तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको अर्को सेमीफाइनलमा टस हारेर ब्याटिङ गरेको नवलपरासीले निर्धारित ५० ओभरमा २७ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ८० रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न बलिङमा दाङका शुभम खनालले ४, दिनेश बोहराले ३, बीरबहादुर घर्तीले २ तथा राजकुमार कुमालले १ विकेट लिए । नवलपरासीका जितेन्द्र साहनीले १९, रन्जित खत्री खड्काले १४ र इकलाख वारिसले १२ रन बनाए पनि अन्य ब्याटर चल्न नसक्दा टीमले हार व्यहोर्यो ।
प्रतिउत्तरमा झिनो लक्ष्य पछ्याएको दाङले ११ ओभर १ बलमा २ विकेटको नोक्सानीमा ८१ रन बनाउँदै जी निकाल्दै फाइनल पुग्यो । उसको जीतमा दिनेश बोहराले अविजित ३२ र सुशान्त सिंह थापाले नटआउट १९ रनको योगदान गरे । बलिङमा नवलपरासीका ओमकार यादव र करण विकले १–१ विकेट लिए । खेलमा दाङका दिनेश बोहरा प्लेयर अफ द म्याच भए ।
यही फागुन २५ देखि भैरहवाको सिद्धार्थ रंगशाला, तिलोत्तमाको एक्स्ट्राटेक र लमही राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोटका लागि जिल्ला स्तरको छनोट खेल भएको हो । प्रतियोगिताबाट प्रत्येक जिल्लाका उत्कृष्ट खेलाडी छनोट गरी लुम्बिनी प्रदेशको एउटा टीम बनाइने प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij