
शनिवार , फाल्गुण १०, २०८१
बुटवल, १० फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साहित्य लेखनमा युवा पुस्ताको सक्रिय सहभागीता आवश्यक रहेको बताएका छन् । साहित्यिक चौतारी नेपालको ११ औं वार्षिकोत्सवको बुटवलमा शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले साहित्य लेखनमा युवा पुस्ताको सक्रिय सहभागीता आवश्यक रहेको बताएका हुन् ।
‘साहित्य, सृजना तथा लेखन कार्यमा युवाहरुको सहभागीता आवश्यक छ । युवाहरुले समाज रुपान्तरणका लागि योगदान पुर्याउन जरुरी छ’उनले भने–‘साहित्यले जागरण ल्याउन र सकारात्मक धारणा निर्माण गर्न पनि भूमिका बढाउन जरुरी छ ।’ उनले साहित्यिक क्षेत्रमा नयाँ पुस्ताको सहभागीता बढाउने गरी भूमिका बढाउन आह्वान गरे ।
‘पहिला विद्यालयमा अतिरिक्त क्रियाकलाप हुन्थ्यो । भाषा, कला, संस्कृतिको बारेमा विद्यार्थीहरुले नयाँ ज्ञान सीप सिक्ने अवसर थियो । अहिले आधुनिकताको नाममा यस खाले अभ्यास हराउँदै जान थालेको छ’उनले भने–‘नयाँ पुस्तामा साहित्यक कार्यक्रम केन्द्रीत गर्न जरुरी छ ।’
उनले विद्यालय तहमा सुरु भएको मेरो विद्यालय, मेरो दायित्व अभियानमा पनि साहित्यक कार्यक्रमलाई केन्द्रित गर्नतर्फ पनि पूर्व विद्यार्थीहरुमा आह्वान गरे । साहित्यिक चौतारी नेपालका केन्द्रीय अध्यक्ष गिता भण्डारीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको थियो । भाषा र साहित्यको क्षेत्रमा युवा विद्यार्थीहरुको क्षमता बढाउन संस्थाले भूमिका खेलिरहेको संस्थाका अध्यक्ष गीता भण्डारीले बताइन् । ‘जहाँ नेपाली पुग्छ, त्यहाँ नेपाली भाषा र संस्कृति पुग्न जरुरी छ भन्ने उद्देश्यसहित विदेशमा पनि अभियान थालेका छौं’उनले भनिन्–‘सबै उमेर समुहमा नेपाली भाषा र साहित्यको प्रवद्र्धन गर्न योगदान गरिरहेका छौं ।’ मुख्यमन्त्री आचार्यले चौतारी अंक ७ र अग्नि सरिता कृति विमोचन गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij