२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी प्रादेशिक अस्पतालको स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम

शनिवार , फाल्गुण १०, २०८१

बुटवल, १० फागुन । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औं स्थापना दिवसका अवसरमा आयोजिता सप्ताहव्यापी कार्यक्रम अन्तरगत शनिबार फुटबल तथा भलिबल प्रतियोगिता सम्पन्न भएका छन् । बुटवलस्थित प्रहरी तालिम केन्द्र बुटवलमा अवस्थित खेल मैदानमा सम्पन्न फुटबल प्रतियोगिताको उपाधि चिकित्सक समूहले हात पारेको छ भने भलिबल प्रतियोगिताको उपाधि प्रशासन समूहले हात पारेको छ । 

फुटबल प्रतियोगितामा चिकित्सक समूहले प्रशासन समूहलाई ५–० गोल अन्तरले पराजित गरेको हो । जीतका लागि चिकित्सक समूहका डा. विनय केसी र डा. सुरज केसीले २–२ गोल गरेका थिए भने डा. उत्सव रेग्मीले १ गोल गरेका थिए । त्यसै गरी भलिबलमा प्रशासन समूहले प्रयोगशाला समुहलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । अस्पतालका विभिन्न विभागमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्माचारीहरुबीच विभिन्न समूह चरणका खेलबाट चिकित्सक र प्रशासन समूह फाइनल प्रवेश गरेका थिए । 

प्रतियोगितामा रेफ्रीलाई बल हस्तान्तरण गर्दै लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, सदस्य लक्ष्मी भट्टराई तथा मेडिकल सुपरीटेण्डेढट डा. इन्द्र ढकालले शुभकामना व्यक्त गरेका थिए । 
स्थापना दिवसका अवसरमा यसअघि सम्पन्न क्रिकेट प्रतियोगितामा चिकित्सक समूहले प्रशासन समूहलाई पराजित गरेको थियो । अतिरिक्त क्रियाकलाप अन्तरगत अस्पतालमा फलफूल वितरण तथा म्याराथन प्रतियोगिता समेत गरिने अस्पतालका प्रमुख प्रशासकीय अधिकृत राजन केसीले जानकारी दिए । ११५ औं स्थापना दिवसको अवसरमा ११५ जनाबाट रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको उनले जानकारी दिए । 
पत्रकारसँगको मैत्रीपूर्ण फुटबलमा अस्पताल विजयी 

लुम्बिनी प्रादेशिक अस्पताल र नेपाल पत्रकार महासंघ रुपन्देही शाखा बीच भातृत्व बिकासका लागि आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा अस्पताल विजयी भएको छ । अस्पताल समुहले पत्रकार समूहलाई ३–० गोल अन्तरले पराजित गरेको हो । 

जीतका लागि अस्पतालको तर्फबाट खेलको पहिलो हाफमा ऋषिराम चौधरीले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । यसैगरी संजय गोदारले थप १ गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए । खेलको सुरुवातदेखि नै  हाबी देखिएको अस्पताल समूहका लागि दोस्रो हाफमा विनय केसीले थप १ गोल गरेका थिए । 

अस्पतालले यही फागुन १५ गते मनाउन लागिरहेको स्थापना दिवसका अवसरमा विभिन्न रचनात्मक क्रियाकलाप सञ्चालन गरिरहेको छ । अस्पतालले स्थापना दिवसमा आफ्ना गतिविधिसहितको ‘जीवक–३’ नामक स्मारिका पुस्तक समेत प्रकाशन गर्ने भएको छ ।