
बुधवार , चैत्र ४, २०७७
भैरहवा, ४ चैत ।
रुपन्देहीको रोहिणी गाउँपालिकाले पहिलो चरणमा ५ सय वटा विद्युतीय चुल्हो वितरण गर्ने योजना बनाएको छ । वैकल्पिक उर्जा कार्यक्रम रुपन्देहीको गाउँपालिकाले वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको नेपाल नवीकरणीय उर्जा कार्यक्रम रुपन्देहीको विद्युतीय चुल्हो वितरण गर्ने भएको छ ।
सेवा प्रदायक डोलेश्वर महादेव निर्माण तथा सप्लायर्स प्रा.लि.ले चुल्होसहित त्यसलाई आवश्यक पर्ने विद्युतीय उपकरण र वाईरिङ समेत ४ हजार २ सय २३ रुपैयाँमा उपलब्ध गराउनेमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको नेपाल नवीकरणीय उर्जा कार्यक्रमले ६० प्रतिशत र रोहिणी गाउँपालिकाको ४० प्रतिशत अनुदानमा उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए । ‘सुरुमा ५ सय घरधुरीलाई प्रदान गर्ने लक्ष्य राखेका छौ, यसमा सफल भइयो भने आगामी दिनमा यसलाई अझै विस्तार गरिनेछ ’यादवले भने ।
उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयद्वारा २०७५ मा जारी भएको श्वेत पत्रमा देशलाई विद्युतमा आत्मनिर्भर बनाउन, देशभित्र खपत हुने उर्जाका अन्य स्रोतहरुलाई विद्युतीय उर्जाले बिस्थापित गरी व्यापार घाटा कम गर्न र सबैलाई दिगो, भरपर्दो, सर्वसुलभ स्वच्छ उर्जा गराउने लक्ष्य रहेको छ ।
बेलायत सरकारको आर्थिक सहयोगमा नेपाल सरकार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रद्वारा सञ्चालित नेपाल नवीकरणीय उर्जा कार्यक्रम २०७५ माघदेखि सुरु भई २०८० को असार मसान्तसम्म सञ्चालन हुने वैकल्पिक उर्जा प्रवद्र्धनका सहायक निर्देशक मुकेश घिमिरेले जानकारी दिए ।
कार्यक्रम अन्तर्गत छनौटमा परेका १७ वटा पालिकाहरुमा ८ हजार ३ सय ५० थान अनुदानको विद्युतीय चुल्हो वितरण गरिने उनले बताए । रुपन्देहीमा पनि कञ्चन गाउँपालिकामा ३ सय र तिलोत्तमा नगरपालिकामा ३ सय ५० वटा चुल्हो वितरण गर्ने कार्यक्रम रहेको उनले बताए ।
विद्युतीय चुल्होले दाउरा अथवा अन्य इन्धन प्रयोग घटाउने हुँदा यसले दाउराकै लागि हुने वन फडानी तथा यसबाट हुने रोगहरुबाट बचाउने नेपाल नवीकरणीय उर्जा शाखा प्रमुख हरि अर्यालले बताए ।
रोहिणी गाउँपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी विद्युतीय चुल्होको प्रयोग यसका विशेषता र सुरक्षाका उपायहरुबारे स्थानीयलाई जानकारी समेत गराएकोे छ । अहिले प्रयोग भइरहेको ग्यास चुल्होको तुलनामा ४० प्रतिशत कम लागत लाग्ने र त्यो भन्दा पनि कम समयमा खाना पाक्ने हँुदा यसको प्रयोग बढाउनुपर्ने कार्यक्रमका वक्ताहरुको भनाइ थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij