२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

तिलोत्तमामा दोस्रो युवा सम्मेलन : युवा उत्पादन र उद्यमशीलतातर्फ लाग्नुपर्नेमा जोड

आइतवार , फाल्गुण ११, २०८१

तिलोत्तमा, ११ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा युवामैत्री स्थानीय शासनका निम्ति दोस्रो युवा सम्मेलन शनिबार तिलोत्तमाको शंकरपुरमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख (मेयर) रामकृष्ण खाणले युवाहरुलाई शिक्षित बनाउनका संघ, प्रदेश र स्थानीय सरकार लागिपरेको बताए । नगरपालिकालाई समृद्ध बनाउन स्थानीय क्षेत्रमा उद्यम र स्वरोजगारका लागि युवाहरुमा निराशा मात्रै नभइ युवाहरुले केही गरुन् भन्ने उद्देश्य राखेको बताए । 

नयाँ र फरक तरिकाले देशमै केही गर्न सके राम्रो आम्दानी हुने र सानो लगानीमा पनि ठूलो आम्दानी गर्न सकिने नगरप्रमुख खाणको भनाइ छ । सरकारले शिक्षामा ठूलो लगानी गरेकोले युवाहरुमा क्रियटिभ, इनोभेसन हुनुपर्ने र नेपालमा अवसर नै छैन भन्ने भाष्य निर्माण गर्न खोजिएकोले यस्ता भ्रममा नपर्न आग्रह गर्दै नयाँनयाँ खोज तथा अनुसन्धान गर्न युवाहरु लाग्नुपर्ने उनले बताए ।

IMG_0348.JPG

त्यस्तै विशिष्ट अतिथि उपप्रमुख जगेश्वर देवी चौधरीले तिलोत्तमा नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गरिएको बताउँदै युवाहरुले केही अधिकार पाएनौ भन्दा पनि के गर्दा युवामैत्री नगरपालिका बनाउन सकिन्छ भन्ने बारेमा चासोको विषय भएको बताइन् । उनले तिलोत्तमामा भौतिक पूर्वाधारको विकास मात्रै नहेरी बालमैत्री, महिलामैत्री र युवाहरुको मागहरु सम्बोधन गर्न चाहेको बताए । बजेटमै युवाहरुको क्षमता विकास गर्ने, कृषि, पशुपालन, उद्यममा समेत अनुदान र औजारसँगै सीप प्रदान गर्ने गरी नगरपालिका अगाडि बढेको उनको भनाइ छ ।

लुम्बिनी प्रदेश युवा परिषद्का कार्यकारी पूर्व उपाध्यक्ष गोविन्द केसीले हरेक युवाहरु सक्षम र कामप्रति लगाव नभएसम्म उनीहरु अगाडि बढ्न नसक्ने बताए । उनले युवाहरु प्रविधितर्फ अगाडि बढ्दै अंग्रेजी सिक्दै रोजगारीको लागि विदेश पलायन नभइ स्वदेशमा रहेर युवा उत्पादन र उद्यमशीलतातर्फ लाग्नुपर्ने बताए । 

अघिल्लो वर्ष प्रथम सम्मेलन सम्पन्न गरेको नगरपालिकाले शनिबार आयोजित दोस्रो युवा सम्मेलनमा आफ्नो जीवनका कठिन अनुभव बताउँदै महिला उद्यमी मन्जु भुसालले हरेक चुनौतीहरु संघर्ष गर्दै अगाडि बढ्न सकेमा अवश्य सफलतामा पुग्न सकिने बताइन् । उनले युवा शक्ति देशको खम्बा भएकोले सबै एकजुट भएर अघि बढ्न आग्रह समेत गरेकी थिइन् । 

त्यस्तै कार्यक्रममै युवाहरुलाई प्रेरणा दिन राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, राष्ट्रिय युवा परिषद्का प्रमुख प्रशिक्षक चन्द्र कुमारी थापा, युवा अभियन्ता तथा एक्स्ट्राटेक क्रिकेट खेलमैदानका निर्देशक बिनोद कुँवर लगायतले युवाहरुले आफ्नो दक्षता, लगाव र मिहिनेतसँगै निरन्तरताले सफलता प्राप्त गर्न सकिने कुरा बताए ।

कार्यक्रममा विभिन्न विधामा प्यानलिष्ट रुपमा छलफल समेत भएको थियो । युवा सहभागिता, व्यवसायिक सफलता, र उद्यमी यात्रा बारेमा पत्रकार सन्जु पौडेलले सहजीकरण गर्दै तिलोत्तमाका प्रभावशाली युवा तथा उद्यमीहरु शाखा अधिकृत माधव पोख्रेल, महिला उद्धमी सोना श्रीस, युवा व्यवसायी अंकित भुसालबीच युवा बहस गरिएको थियो ।

कार्यक्रममा युवा सहभागीता र राजनीतिका बारेमा नेकपा (एमाले) का मिन प्रसाद पोख्रेल, नेपाली कांग्रेसका हरिलाल पाण्डे र नेकपा (माओवादी केन्द्र) का बेल प्रसाद शर्मासँग पत्रकार बिनोद परियारले बहस गरेका थिए ।

त्यस्तै तिलोत्तमाका विषयगत समितिहरुको कार्यका बारेमा आर्थिक विकास समितिका संयोजक गणेश पाठक, वन वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक सुरेन्द्र श्री, संस्थागत तथा क्षमता विकास समितिका संयोजक राधा शाहीसँग पत्रकार मोहन न्यौपानेले बहस गरेका थिए । छलफल र अन्तरक्रिया गरिएको सो बहसमा १७ वटा वडाबाट प्रतिनिधित्व गरेका युवाहरुले जिज्ञासा समेत राखेका थिए । 

तिलोत्तमा नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा कार्यक्रम संयोजक रवि सेन्चुरीको अध्यक्षता तथा स्वागत मन्तव्यमा कार्यक्रमको सञ्चालन तिलोत्तमा नगरपालिकाका नगर सभा सदस्य गोविन्द गुरुङ (लबसन) ले गरेका थिए ।