
आइतवार , फाल्गुण ११, २०८१
भैरहवा, ११ फागुन । रुपन्देहीमा व्यवसायिक आलु उत्पादनमा वृद्धि भएको छ । रुपन्देहीका सातवटा पालिकालाई जोडेर आलुको व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) सञ्चालन गरिएपछि आलुको व्यवसायिक उत्पादन बढेको हो ।
तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, शुद्धोधन, कञ्चन, गैडहवा, मायादेवी र सियारी गाउँपालिकामा आलुको व्यवसायिक उत्पादन सुरु गरिएको हो । जोनमा ७ वटा पालिकाका १९ वटा वडा समाहित छन् । विगतमा घरायसी प्रयोजनका लागि आलुको खेती गर्दै आएका यहाँका किसानहरु अहिले आलुको व्यवसायिक उतपादनमा जुटेका हुन् । व्यवसायिक आलुखेती विस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धि र बजारीकरणमा सघाउने उद्देश्यले जोन कार्यक्रम सञ्चालन गरिएको थियो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्यवन एकाई रुपन्देहीमार्फत सुरु गरिएको आलु जोनले कृषकमा उत्साह थपेको छ । आलुजोन कार्यक्रममा १६ वटा कृषि फार्म, समूह र सरकारी सूचीकृत भएर आलुको व्यवसायिक खेती गरिरहेको परियोजना कार्यान्वयन एकाई भैरहवाका प्रमुख नारायण काफ्लेले जानकारी दिए । उनले रुपन्देहीमा समथर भूमि भएको तथा आलु उत्पादनको लागि सम्भावना भएकाले आलु जोनको रुपमा विकास गरेर किसानलाई व्यवसायिक खेतिमा आर्कषित गरिएको बताए ।
‘नेपालमा ठुलो मात्रामा भारतबाट आलुको आयात हुने गरेको छ, जसले गर्दा नेपालबाट अत्याधिक मात्रामा धनरासी विदेशिने गरेको छ, परियोजना प्रमुख काफ्लेले भने, ‘आलुको आयत प्रतिस्थापन गर्न तथा आलुको व्यवसायीकरणमा जोड दिनका लागि आलु जोन लागू गरेर किसानलाई यसतर्फ आर्कषित गरिएको हो ।’ आलु जोनमा सहभागी भएर आलु खेती गरेका किसानले विगतमा परम्परागत रुपमा खेती गर्न भन्दा अहिले झण्डै दोब्बर उत्पादन गर्दै आएका छन् ।
परियोजनाले आलुखेती गर्ने कृषकलाई मल, बीउ खरिद, साना सिंचाई निर्माण, भण्डारण, बजारीकरण लगायत कामका लागि सिंचाई पुर्वाधार, यान्त्रिकरण, सुक्ष्म खाद्य तत्वमा अनुदान र आवश्यक सहजीकरण गर्दै आएको आलु जोनको प्राविधिक नविन बुढाले जानकारी दिए ।
पहिलो वर्ष आलु जोन कार्यक्रममा समेटिएको कृषकहरुले १८ हेक्टर क्षेत्रफलमा आलु खेती गर्दै आएका छन् । १८ हेक्टर क्षेत्रफलमा आलुको व्यवसायिक खेती हुँदै आएको रुपन्देहीमा प्रतिहेक्टर २५ दशमलव २ मेट्रिक टन उत्पादन हुने आकलन गरिएको परियोजनाले जनाएको छ । परियोजनामा कार्यरत बागबानी विज्ञ बामदेव रेग्मीले ७५ हेक्टर क्षेत्रफलमा आलु लगाइने लक्ष्य लिएकोमा पहिलो वर्ष २२ देखि २५ हेक्टरमा मात्र आलु लगाइएको बताए ।
कतिपय किसानहरुले जानकारी नपाएर त, कतिपयले समयमै बिउबिजन नपाएका कारण चाहे अनुरुप खेती गर्न सक्नुभएन, बागवानी विज्ञ रेग्मीले भने–‘यस वर्षको आलु खेतीपछि किसानहरु यो खेतीमा आर्कषित भएका छन् ।’ उनले तोरीखेतीको तुलनामा आलुले राम्रो आम्दानी दिने बताए । किसानहरुले एक कठ्ठाबाटै ५० हजारसम्म कमाई गरेको उनको भनाइ छ ।
परम्परागत आलु खेती छाडेर व्यवसायिक आलु खेती गर्दै आएका किसानहरुले उत्पादन राम्रो भएपछि आगामी वर्षबाट क्षेत्र विस्तार गरेर आलुको खेती गर्ने सोचमा रहेको बताएका छन् । सैनामैना नगरपालिका वडा नम्बर ४ का शंकर थारुले अन्य तरकारी खेती भन्दा आलु खेती गर्न सहज, उत्पादन वृद्धि र आम्दानी बढी हुने गरेकाले आलुको व्यवसायिक आलु खेतीमा लागेको बताए । उनले यस वर्ष ट्रायल खेतीको रुपमा लगाइएको आलु खेतीले राम्रो उत्पादन दिएपछि अर्को सिजनबाट क्षेत्र विस्तार गरेर आलु खेती गर्ने सोचमा रहेको बताए । उनले राज्यले समयमै बिउविजन र मलको व्यवस्था गर्न सके आलु खेतीमा थप किसानहरु आर्कषित हुने बताए ।
परियोजनाले सिफारिस गरेको आलुको बिउ लगाएका किसानले एउटै बोटबाट दुई केजीसम्म आलु उत्पादन गरेका छन् । शुद्धोधन गाउँपालिका–५ शान्तिनगरका गंगाप्रसाद गौतमले कृषि सहकारीबाट बिउ ल्याएर लगाएको आलुको बिउले निकै राम्रो उत्पादन दिएको बताए । नमुनाको रुपमा थेरै जग्गामा आलु खेती गरिएको बताउँदै उनले आगामी वर्षदेखि क्षेत्र विस्तार गरेर आलु खेतीमा लाग्ने बताए । उनले आफूले लगाएको आलुको एउटै दान आधा केजी भन्दा बढी तौलको रहेको बताए ।
सैनामैना–४ का देवनारायण चौधरीले १५ कठ्ठामा आलु खेती गरिएको बताए । यसअघि उक्त जग्गामा अन्य तरकारी खेती गर्दै आएका चौधरीले आलु जोन लागू भएपछि आलु खेतीमा लागेको जानकारी दिए । सरकारले आलुको बजारीकरणसहित आवश्यक सहयोग गरे आलु खेतलिाई बढाएर लैजाने उनले उल्लेख गरे ।
रुपन्देहीमा उत्पादन गरिएको आलु औद्योगिक प्रयोजनका लागि प्रयोग हुने जनाइएको छ । यहाँ उत्पादित आलुलाई शुद्धोधन गाउँपालिकामा रहेको मुलुककै ठूलो र पहिलो स्वचालित आलु उद्योगमा आलुुका परिकार बनाउन विक्री गरिने जनाइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij