२०८२, कार्तिक १८ गते

Nov 04 2025 | २०८२, कार्तिक १८ गते

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटमा रूपन्देही च्याम्पियन

आइतवार , फाल्गुण ११, २०८१

  • 544
    Shares
  • 544
    Shares
  • भैरहवा, ११ फागुन । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय छनोट खेलमा रुपन्देही च्याम्पियन बनेको छ । आइतबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशलामा सम्पन्न फाइनल खेलमा रुपन्देहीले दाङलाई ९३ रनले पराजित गर्दै छनोट खेलको च्याम्पियन बनेको हो । विजेता र उपविजेता टीमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

    टस हारेर ब्याटिङको निम्तो पाएको रुपन्देहीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १ रन बनायो । उसका लागि प्रज्वल थापाले शतकीय पारी खेले । उनले १ सय १ रन जोडे । यस्तै, मनिष थापाले २४, मिर्नाल गुरुङले २२, एजाजुल हकले १८ र विप्रशन केसीले १२ रन बनाए । बलिङमा दाङका दिनेश बोहरा र मोहन खत्रीले ३–३ तथा वीरबहादुर घर्तीमगर र तुलबहादुर थापाले १–१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको दाङ ३२ ओभर ५ बलमा १ सय ८ रन बनाउँदा अलआउट भयो । उसका लागि मनोज पुनले २२, सुशान्त सिंह थापाले १८, मोहन खत्रीले १७ र तुलबहादुर थापाले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टीमले हार व्यहोर्याे । बलिङमा रुपन्देहीका सन्देश थापा र रमेश कुर्मीले ३–३, अजय चौहानले २ तथा कृष्ण कार्की र विप्रशन केसीले १–१ विकेट लिए । खेलमा रुपन्देहीका प्रज्वल थापा प्यलेर अफ द फाइनल घोषित भए ।

    विजेता र उपविजेता टीमलाई सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारी, प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङ, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रदीप मजगैया, संघका उपाध्यक्ष विनयराज भण्डारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, संघका संस्थापक अध्यक्ष प्रेम कुमार सेन्चुरी, नेपाल साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड भैरहवाका प्रमुख हरिचन्द्र श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरे ।

    यही फागुन २५ देखि भैरहवाको सिद्धार्थ रंगशाला, तिलोत्तमाको एक्स्ट्राटेक र लमही राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टीम छनोटका लागि जिल्लास्तरको छनोट खेल सम्पन्न भएको हो । खेलाडीको प्रदर्शन हेरेर छनोट समितिले केही दिनमै लुम्बिनी प्रदेशको एउटा टीम छनोट गर्ने प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङले बताए ।