
आइतवार , फाल्गुण ११, २०८१
भैरहवा, ११ फागुन । काशी नोबल एकेडेमी सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा आइतबार (आजदेखि) जिल्लास्तरीय चेस प्रतियोगिता–२०८१ सुरु भएको छ । रुपन्देही जिल्लाका बुटवल र भैरहवा क्षेत्रका १५ वटा विद्यालयका ६६ जना विद्यार्थीले चेस प्रतियोगितामा भाग लिएका छन् । २० जना छात्रा र ४६ जना छात्र रहेको खेल दुई दिनसम्म चल्नेछ ।
प्रतियोगितामा पहिलो दिन ३ राउण्ड र दोस्रो दिन ४ राउण्ड गरी खेल हुने आयोजक संस्थाका खेल संयोजक निर्मल हुमागाईले बताए । विद्यार्थीको वृद्धि विकास र पढाइमा एकाग्रता बनोस् भन्ने उद्देश्यले सञ्चालन गरिएको प्रतियोगितामा प्रथम पुरस्कार ६ हजार, दोस्रो पुरस्कार ४ हजार, तेस्रो हुनेले २ हजार र सान्त्वना १ हजार रुपैयाँ प्रदान गरिने हुमागाईले बताए ।
काशी नोबल एकेडेमी सञ्चालक समितिका अध्यक्ष ओम जैसीको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले उद्घाटन गर्दै चेस खेलले मानसिक रुपमा वृद्धि गराउने भन्दै यसको महत्वका बारेमा चर्चा गरिन् ।
कार्यक्रममा सामूहिक विद्यालय परिवार रुपन्देहीका अध्यक्ष बसन्त पाण्डे, सिद्धार्थनगर नगर कार्यपालिका सदस्य सविता गौतम, विद्यालयका सहायक प्राचार्य श्री रायमाझी, शिक्षक दीपक काफ्ले, हरि प्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो । विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेको स्वागत मन्तव्य तथा कार्यक्रम संयोजक निर्मल हुमागाइको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
चेस प्रतियोगिताको मुख्य निर्णायकमा विजय गुरुङ, निर्णायकमा सुमन श्रेष्ठ र शिवम विक रहेका छन् । भारतबाट सुरु भएको चेस खेल हाल १ सय ७३ देशमा खेलिने गरेको प्राचार्य राजेन्द्र घिमिरेले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij