२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘महिला नै पहिला’ अनुपम अभियान बुटवलमा

सोमवार , फाल्गुण १२, २०८१

बुटवल, १२ फागुन । अन्तर–पुस्ता महिलावादी मञ्चको नेतृत्व तथा अनुपम अभियान अन्तर्गत आइतबार रुपन्देहीको बुटवलमा पञ्चेबाजासहित र्‍याली निकालिएको छ । बुटवलको पुष्पलाल पार्कबाट सुरु भएको र्‍याली ट्राफिकचोक हुँदै पुनः पुष्पलाल पार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । राज्यका हरेक निर्णायक तहमा ‘महिला नै पहिला’ हुनुपर्ने आवाज उठाउँदै महिलाले देशव्यापी रुपमा यो अभियान चलिरहेको छ । 

रुपन्देहीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा, देवदह, सैनामैना, सिद्धार्थनगर नगरपालिका र अन्य पालिकाबाट सहभागी महिलाहरुले राजनीतिमा महिला पद छ, जिम्मेवारी छैन, महिलावादीको आड माया करुणा र साहस, परिवर्तनको समय, महिलालाई नेतृत्व दिनुहोस्, प्रधानमन्त्री महिला, हुनपर्छ पहिला जस्ता नारा लेखिएका  प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

राज्यका हरेक निर्णायक तहमा ‘महिला नै पहिला’ भनेर अनुपम यात्रा देशव्यापी अभियान सुरु गरिएको अन्तरपुस्ता महिलावादी मञ्च सदस्य तथा अभियानकर्मी ज्ञानु पौड्यालले बताइन् । महिला अनिवार्य रहेको व्यवस्थालाई समेत ‘गठबन्धन’ र ‘वा’ जस्ता शब्दको दुरुपयोग गर्दै कानूनमा छिद्र खोजेर महिलाको अर्थपूर्ण सहभागीतालाई पाखा लगाउने काम भएको भन्दै महिला पहिला भए मात्रै महिला नेतृत्व सफल हुने पौड्यालको भनाइ छ । 

कोणसभालाई सम्बोधन गर्दै अन्तरपार्टी महिला संजालका संयोजक पम्फा खनालले महिलाको नेतृत्वलाई स्विकार्ने वातावरण बनाउन र राज्यका सबै तहमा महिलाको समतामूलक सहभागिता अनिवार्य रहेको बताइन् । घर सम्हालेका महिलाले देश सम्हाल्न सक्छन् भन्ने उदाहरण पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भएको बताउँदै अब प्रधानमन्त्री महिला हुनुपर्ने उनले बताइन् ।

रुपन्देहीमा रहेको सिर्जनशील संस्था नेपाल (सिन) ले को समन्वयमा भएको र्‍यालीमा रुपन्देहीका दर्जन भन्दा बढी संघ–संस्थाका ३ सय भन्दा बढी महिलाको सहभागीता रहेको अभियानकर्ता प्रतिमा पन्थीले जानकारी दिइन् ।

WhatsApp Image 2025-02-23 at 10.26.35 PM.jpeg

आगामी निर्वाचनमा महिलालाई अर्थपूर्ण नेतृत्वमा ल्याउनु अनुपम यात्राको अन्तिम लक्ष्य रहेको अभियानकर्ताहरु बताउँछन् । गत स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये २५ वटा स्थानीय तहमा मात्रै महिलाले प्रमुख पदको जिम्मेवारी पाएका थिए । यो संख्या भनेको कुल निर्वाचित संख्याको ३ दशमलब ३२ प्रतिशत मात्रै हो । त्यसै गरी प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ २२५ जना महिला निर्वाचन मैदानमा भए पनि ९ जना मात्रै निर्वाचित भएका थिए । २०८० सालदेखि सुरु भएको अनुपम यो अभियान २०८४ सालसम्म सञ्चालन हुनेछ ।

35cecca1-0d7e-49b3-9b36-cb8ed1226b01.jpg
61a754a7-9963-4db3-acd5-ddb30c201cf4.jpg
f466683b-033d-460c-9fca-dca64b898a21.jpg
32e25df0-c829-48eb-bd61-0b3934ed2bec.jpg