२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

सार्वजनिक पद धारण गरेका व्यक्तिलाई मिडियाले जवाफदेही बनाउँछ : मन्त्री तिमिल्सिना

सोमवार , फाल्गुण १२, २०८१

  • 736
    Shares
  • 736
    Shares
  •  दाङ, १२ फागुन । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले सार्वजनिक पद धारण गरेका व्यक्तिलाई जवाफदेही बनाउन मिडिया क्षेत्रको भूमिका प्रभावकारी हुनुपर्ने बताएका छन् । 
    बागेश्वरी असल शासन क्लब (बास) नेपालको आयोजनामा सोमबार दाङको भालुबाङ्गमा भएको सूचना प्रवाह तथा सञ्चार संलग्नताको प्रभावकारीताको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले सार्वजनिक निकाय र व्यक्तिलाई जवाफदेही बनाउन मिडिया परिचालनमा सरकारले पनि प्राथमिकतामा राख्ने बताएका हुन् ।

    ‘मिडिया र सरकार एकआपसमा जोडिनुपर्छ । सरकारलाई जवाफदेही बनाउन मिडियाले स्वतन्त्र ढंगबाट तथ्यमा आधारित भएर खबरदारी गर्न जरुरी छ’उनले भने–’प्रदेश सरकारले सुशासन कायम गर्न थालेको अभियानमा मिडिया क्षेत्रको साथ सहयोग आवश्यक छ ।’ 

    त्यस्तै मन्त्री तिमिल्सिनाले समाज रुपान्तरणका लागि सरकारको एक्लो प्रयासले मात्रै सम्भव नरहेको, त्यसमा नागरिकहरुको समेत साथ सहयोगले सम्भव रहेको बताए । सामाजिक क्षेत्रको विकास र सुदृढीकरणका लागि ऐन, नियम बनाउने कामलाई प्राथमिकतामा राखिएको उनले बताए । ‘दलित अधिकार ऐन बनाउने काम अघि बढेको छ । बढघरलाई कानूनी मान्यता दिने गरी पनि काम अघि बढेको छ’उनले भने–’शिक्षा क्षेत्रमा गुणस्तरीय कायम गर्न मेरो विद्यालय मेरो दायित्व अभियान थालेका छौं ।’ 

    a5568603-f981-4c77-967d-c2fdf89aa0b3.jpg

    द एसिया फाउण्डेशनको सहयोगमा लुम्बिनी प्रदेशमा ४ महिनाको अवधिसम्म सञ्चार पहुँच र संलग्नता कार्यक्रम सञ्चालन भएको थियो । यो अवधिमा प्रदेश सरकारले गरेका कामहरु र सुधारका क्षेत्रमा आधारित कामलाई आम सञ्चारका माध्यममा प्रकाशन तथा प्रशारण गरिएको थियो । 

    प्रदेश सरकारको कामलाई मिडियामैत्री बनाउनुपर्ने, सञ्चार ऐनको कार्यान्वयन र सञ्चार समन्वय परिषद्लाई कार्यान्वयनमा लैजानुपर्ने, नियमित पत्रकार सम्मेलन जस्ता क्रियाकलापलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिइएको छ । 

    बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षता तथा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आन्तरिक मामिला मन्त्रालयका सचिव रेखा कंडेल, वरिस्ठ पत्रकार झलक गैरे, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उपसचिव मोहन अर्याल, प्रेस संयोजक दशरथ घिमिरे लगायतका वक्ताहरुले धारणा राखेका थिए । 

    बास नेपालका कार्यक्रम संयोजक मन भण्डारीले परियोजनाबाट गरिएका काम, उपलब्धि, सिकाइ र सुझावमा आधारित प्रस्तुति राखेका थिए । बास नेपालका केन्द्रीय उपाध्यक्ष शिवकुमार बर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए ।