
मंगलवार , फाल्गुण १३, २०८१
भैरहवा, १३ फागुन । भारतको उडिसामा मृत्यु भएकी भैरहवाकी प्रकृति लम्सालको परिवारसँग नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले भेटघाट गरेका छन् । सोमबार बिहान सिद्धार्थनगर नगरपालिका–८ बैंककलोनीस्थित लम्साल निवासमा पुगेर पूर्वमन्त्री बस्नेतले परिवारसँग भेटघाट गर्नुभएको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले जानकारी दिइन् ।
प्रकृतिको बुवा सुनिल लम्साल, आमा सुनिता शर्मा लम्साल र परिवारलाई भेटेर बस्नेतले समवेदना प्रकट गरेका छन् । बस्नेतले स्वर्गीय प्रकृति लम्सालको न्यायका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘घटनामा संलग्न दोषीहरुलाई कारवाही गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउँछ, ’उनले भने ।
पूर्वमन्त्री बस्नेतले घटनाबारे सरकारले सुरुदेखि नै पहलकदमी लिएको र प्रकृति लम्सालको मृत्युको घटना नेपालबाट पढ्न गएका सबै छोरीहरुको पीडा भएको बताए । लम्साल निवासमा पुगेका बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गर्नुभएको नेकपा (एमाले) रुपन्देही जिल्ला सदस्य कृष्ण मल्ल ठकुरीले बताए । प्रकृतिका बुवा र आमासँग फोनमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले घटना सुनेर आफलाई धेरै दुःख लागेको बताए । प्रधानमन्त्री ओली भने, ‘घटनाबारे निष्पक्ष छानबीन हुने विश्वास लिएको छु । घटनाबारे सुरुदेखि नै चासो लिएका छौं । सरकारी तवरबाट पहल भइरहेको छ । ’
प्रकृतिका बुवा सुनिल लम्सालले भने, ‘आगामी दिनमा यस्तो घटना सुन्न नपरोस् । दोषीलाई कडा कारवाहीका लागि सरकारबाट पहल होस् ।’
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत २१ वर्षियप्रकृति लम्साल त्यहाँको होस्टेलमा मृत भेटिएकी थिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij