२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

युवा व्यवसायी रौनियारले सिद्धार्थ उवासंघको कोषाध्यक्षमा उम्मेदवारी दिने

मंगलवार , फाल्गुण १३, २०८१

भैरहवा, १३ फागुन ।  सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६६ औं वार्षिक साधारण सभा तथा अधिवेशन अन्तर्गत निर्वाचनमा युवा व्यवसायी प्रितम रौनियारले कोषाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ निवासी रौनियार संघमा २०६८ सालमा कार्यसमिति सदस्य पदमा निर्वाचित भएका थिए । त्यसपछि लगातार उनी सदस्य पदमा निर्वाचित हुँदै आएका छन् । ४ पटक वाणिज्यतर्फको सदस्य र हाल वस्तुगत सदस्यको जिम्मेवारी सम्हालिरहेका रौनियार उद्योगी–व्यवसायीमाझ लोकप्रिय छन् ।

‘मेरो कामको मूल्यांकन गर्दै उद्योगी–व्यवसायीले अमूल्य मतदान गरी निरन्तर निर्वाचित गराउँदै आउनुभएको छ । यसपटक संघमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिदैछु, ’रौनियारले खबरपात्रोसँग भने ।

लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीमा पनि दुईपटक कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेको रौनियारले बताए । ‘दुईपटक कोषाध्यक्षको जिम्मेवारी सम्हालेर केही अनुभव संगालेको छु, उनले भने–‘उक्त अनुभव सिद्धार्थ उद्योग वाणिज्य संघलाई अझ बलियो बनाउन तथा उद्योगी–व्यवसायीको हकहितमा लगाउनेछु ।’ रौनियार प्रितम बिल्डर्स र प्रितम अर्डर सप्लायर्स सिद्धार्थनगर–४ का सञ्चालक हुन् । उनी विभिन्न संघ-संस्थामा आबद्ध छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघको ६६ औं वार्षिक साधारण सभा तथा अधिवेशनयही फागुन २३ र २४ गते भैरहवामा हुँदैछ ।