
मंगलवार , फाल्गुण १३, २०८१
बुटवल, १३ फागुन । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औं स्थापना दिवसको अवसरमा आयोजित म्याराथन दौड प्रतियोगिताको उपाधि राजकुमार बुढा मगर र ममता थापाले प्राप्त गरेका छन् । अस्पतालको सप्ताहव्यापी कार्यक्रम अन्तरगत मंगलबार बिहान बुटवलको योगिकुटीदेखि अस्पताल परिसरसम्म भएको प्रतियोगितामा पुरुषतर्फ म्यारामेडिक्स विगागमा कार्यरत बुढा मगर र महिलातर्फ स्टाफ नर्स थापाले जीत दर्ता गरेकी हुन् ।
त्यस्तै पुरुषतर्फको दौड प्रतियोगितामा हिमाल कार्की दोस्रो, दानबहादुर बस्नेत तृतीय तथा दुर्गा सार्की चौथो बन्न सफल भए । महिलातर्फ लक्ष्मी रातो बोहोरा दोस्रो, मञ्जु चौधरी तेस्रो तथा लक्ष्मी तामाङ चौथो हुन सफल भइन् ।
दौड प्रतियोगिताको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, सदस्य लक्ष्मी भट्टराई, मेडिकल सुपरीटेण्डेण्ट डा. ईन्द्र ढकाल, प्रशासकीय प्रमुख राज केसी तथा लेखा शाखा प्रमुख खगेश्वर घिमिरेको उपस्थितिमा उद्घाटन गरिएको थियो ।
सधै बिरामीको उपचार र सेवामा समर्पित हुने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई विभिन्न रचनात्मक खेलकुद गतिविधिले शारीरिक मानसिक स्फुर्ति प्रदान हुने अध्यक्ष श्रेष्ठले बताए । सधै अरुको स्वास्थ्यका बारेमा चिन्ता गर्ने स्वास्थ्यकर्मीहरु स्वयं आफ्नो स्वास्थ्यमा समेत सचेत हुनुपर्ने बताउँदै अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. ढकालले खेलको माध्यमबाट सामूहिक सहकार्यको भावना समेत विकास हुने विश्वास व्यक्त गरे ।
अस्पतालको स्थापना दिवसका अवसरमा सोमबार सरसफाई तथा बिरामीलाई फलफुल वितरण गरिएको थियो । यही फागुन १५ गते मूल समारोहको आयोजना गरी स्थापना दिवस मनाउन लागिएको प्रशासकीय प्रमुख केसीले जानकारी दिए । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले उद्घाटन गर्ने उक्त कार्यक्रममा अस्पतालको गतिविधि समेटिएको स्मारिका विमोचन तथा अवकाश प्राप्त गरेका र सेवारत स्वाथ्यकर्मी तथा कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम रहेको उल्लेख गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij