
मंगलवार , फाल्गुण १३, २०८१
भैरहवा, १३ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले सरसफाईको दिगो व्यवस्थापनको लागि समुदाय एवं जनसहभागीता महत्वपूर्ण हुने बताएका छन् । बगंलादेशको राजधानी ढाकामा आयोजित अन्तरदेशीय स्वस्थ्य तथा सरसफाई सम्बन्धी सम्मेलन–२०२५ लाई मगंलबार सम्बोधन गर्दै उनले सरसफाई कार्यक्रम सञ्चालन गर्न जनताको सहभागीता महत्वपूर्ण हुने बताएका हुन् ।
‘राम्रो स्वच्छता र उचित फोहोर डिस्पोजललाई प्रोत्साहित गर्दै हामी विद्यालय र छिमेकमा नियमित रूपमा जागरूकता अभियानहरू चलाउँछौं’उनले भने‘–समुदाय नेतृत्वको कार्यक्रमहरूले घरपरिवारलाई शौचालय निर्माण र प्रयोग गर्न मद्दत गरेको छ र महिला समूहहरूले सरसफाई सुविधाहरू कायम राख्न ठूलो भूमिका खेलेको छ । दुवै अनसाइट र अफ–साइट सरसफाई मूल्य श्रृंखलालाई पनि प्राथमिकता दिइन्छ ।’ उनले एसियाका शहरहरू तीव्र गतिमा बढ्दै गएको सन् २०३० सम्ममा ५५ प्रतिशत भन्दा बढी जनसंख्या शहरी क्षेत्रमा बसोबास गर्ने दावी समेत गरे ।
उनले त्यसबेला उच्च जनसंख्या घनत्व र शहरी विस्तारका साथ, मानव फोहोरको विशाल मात्राको व्यवस्थापन अझ चुनौतीपूर्ण हुँदै जाने बताए । त्यसलाई मध्यनजर गर्दै अहिले नै स्वास्थ्य एवं सरसफाईको लागि सबैको साझा प्रयासबाट निष्कर्ष निकाले कार्यान्वयनमा जानुपर्ने उनले बताए । उनले अझै पनि अधिकांश शहरहरूमा, परम्परागत ढल सञ्जालहरूले प्रायः नयाँ वा अनौपचारिक बस्तीहरूलाई सेवा दिन नसकेको उल्लेख गरे । नगरप्रमुख खाँले सरसफाईमा महिला र सुविधाबिहीनको सहभागीता पनि दिगो विकासका लक्ष्य ६.२ हासिल गर्न चुनौती बनेको दावी गरे ।
‘हाम्रो शहर बढ्दै जाँदा, धेरै सफलताका कथाहरू र अन्य सहरहरू जस्तै हामीले पनि सरसफाई र फोहोर व्यवस्थापन क्षेत्रमा चुनौतिहरूको सामना गरिरहेका छौं’ उनले भने–तर, हामी वित्तपोषण सुधार गरेर, समुदायलाई संलग्न गरेर र निजी क्षेत्रसँग काम गरेर प्रगति गरिरहेका छौं ।’ उनले स्थानीय उद्यमीहरूले किफायती पर्यावरण–मैत्री शौचालय र फोहोर–देखि–ऊर्जा परियोजनाहरू जस्ता उत्कृष्ट विचारहरू लिएर आउनुपर्ने पनि बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij