२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

आत्मविश्वास जगाउने अभियानलाई अझ विस्तार गर्न आवश्यक छ : मुख्यमन्त्री आचार्य

मंगलवार , फाल्गुण १३, २०८१

बुटवल, १३ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समाजमा रहेका विकृति र विसंगतिलाई अन्त्य गर्न आध्यात्मिक जागरण आवश्यक रहेको बताएका छन् । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, ढवाह शाखा, बुटवलद्वारा आयोजित शिवरात्री महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले समाज परिवर्तनका लागि आध्यात्मिक जागरणको खाँचो रहेको औंल्याएका हुन् ।

‘समाजमा रहेका विकृति र विसंगति अन्त्य गर्नका लागि समाज परिवर्तनको आन्दोलनमा समर्पित हुन जरुरी छ,’ मुख्यमन्त्री आचार्यले भने,‘समुन्नत समाज विकास गर्ने महान लक्ष्यसहित अघि बढ्नुपर्छ । यसका लागि आध्यात्मिक जागरण आवश्यक छ ।’ उनले ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले समाजमा सकारात्मक चिन्तन र दृष्टिकोण निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । उनले आध्यात्मिक जागरणको अभियानलाई अझ प्रवद्र्धन गर्नुपर्ने बताए । साथै, आफू बिरामी पर्दा संस्थाले साथ दिएकै कारण आत्मबल बढाउन प्रेरणा प्राप्त भएको र नयाँ जीवन पाएको अनुभव पनि उनले साझा गरे ।

‘म गम्भीर बिरामी भएर थला परेको बेलामा मेरो मनोबल उच्च बनाउन प्रेरणा दिने कार्य भयो । आत्मविश्वास जगाउने महत्वपूर्ण भूमिका यस संस्थाले खेल्यो । फलस्वरूप, म आज यहाँ उभिन सफल भएको छु,’ मुख्यमन्त्री आचार्यले भने,‘आत्मविश्वास जगाउने अभियानलाई अझ विस्तार गर्न आवश्यक छ ।’

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमला लगायतको विशेष उपस्थिति रहेको थियो ।