
मंगलवार , फाल्गुण १३, २०८१
भैरहवा, १३ फागुन । लियो क्लब अफ सिद्धार्थनगरको आयोजनामा बुधबार (भोली) भैरहवामा १६ औं संस्करणको लियो कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिता हुने भएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा हुने प्रतियोगिताबारे क्लबले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
क्लबका अध्यक्ष विनिता थापाले कर्पोरेट हाउस र त्यसमा पनि विशेष गरी बैंक तथा वित्तीय संस्था तथा क्लबमा आबद्ध १८ देखि ३० वर्षसम्मका युवाहरुबीच आपसी भाइचारा स्थापित गर्दै मजबुत सम्बन्ध विकास गर्न प्रतियोगिता आयोजना गरिएको बताइन् । अध्यक्ष थापाका अनुसार क्लबले वार्षिक रुपमा आयोजना गर्ने सामाजिक क्रियाकलापको निम्ति कोष संकलन गर्ने उद्देश्यले यसपटक ‘एभेन्जर्स क्याफे एण्ड बार १६औं लियो कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिता’ आयोजना गरिएको हो ।
क्लबका पूर्वअध्यक्ष अरुण पन्थीले यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिदै फेरि नयाँ उत्साह र उमंग थप्ने प्रयास गरिएको जनाए । क्लबले आफ्नो स्थापनादेखि नै यस क्षेत्रमा विगत २० वर्षदेखि क्रियाशील भएर वातावरण, युवा, दृष्टि, भोकमरी मधुमेह जस्ता क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेको पन्थीले जानकारी दिए । यीमध्ये युवाहरुलाई गोलबन्ध गरी आपसी भाइचारा अभिवृद्धि गर्न क्रिकेट प्रतियोगिता पनि समावेश गरिएको उनले बताए ।
एकदिवसीय क्रिकेट प्रतियोगिता ५ ओभरको हुने र प्रत्येक टीममा ६ जना खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा ८ टीमको सहभागीता रहनेछ । लियो क्लब अफ सिद्धार्थनगरका अनुसार प्रतियोगितामा सानिमा बैंक, हिमालय बैंक, सिटिजन्स बैंक, आईसीएफसी फाइनान्स, महालक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, मुक्तिनाथ बैंक र गरिमा बैंक सहभागी हुनेछन् ।
प्रतियोगिताको विजेता टीमले नगद २० हजार तथा उपविजेताले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्लेयर अफ द म्याच, प्लेयर अफ द सिरिज, बेष्ट ब्याटर र बलर, बेष्ट फिल्डर, बेष्ट अनुशासित टीम र पहिलो दर्ता टीमलाई पनि पुरस्कारको व्यवस्था मिलाइएको कार्यक्रम संयोजक तथा क्लबका प्रथम उपाध्यक्ष विमल गौतमले बताए । प
प्रतियोगिताको सञ्चालनमा रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोग रहेको आयोजकको भनाइ छ । प्रतियोगिताको मुख्य प्रायोजकमा एभेन्जर्स क्याफे एण्ड बार रहेको छ । प्रतियोगिताबाट बचत भएको रकम सामाजिक कार्यमा लगाइने क्लबका सचिव विवेक भुसालले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब सवा २ लाख रुपैयाँ खर्च हुने क्लबको अनुमान छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij