२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवामा जिल्लास्तरीय चेस प्रतियोगिता सम्पन्न

मंगलवार , फाल्गुण १३, २०८१

भैरहवा, १३ फागुन । काशी नोबल एकेडेमी सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा भैरहवामा जिल्लास्तरीय चेस प्रतियोगिता–२०८१ सम्पन्न भएको छ । रुपन्देहीको बुटवल र भैरहवा क्षेत्रका १३ वटा विद्यालयका ६६ जना विद्यार्थीले चेस प्रतियोगितामा भाग लिएका थिए । २२ जना छात्रा र ४४ जना छात्र रहेको खेल दुई दिनसम्म चलेको थियो । प्रतियोगितामा पहिलो दिन ३ राउण्ड र दोस्रो दिन ४ राउण्ड गरी खेल भएको  आयोजक संस्थाका खेल संयोजक निर्मल हुमागाईले बताए ।

प्रतियोगितामा छात्रतर्फ शान्ति नमूना विद्यालयका शुभम भट्टराई प्रथम, न्यू होराइजनका विपिन जयसवाल द्वितीय, कालिका मानवज्ञान माविका अंकित पोखरेल तृतीय, एभरेष्ट बोर्डिङ स्कूलका सार्थक श्रेष्ठ र अक्सफोर्ड सेकेण्डरी बोर्डिङ स्कूलका दर्शन खनाल सान्त्वना भएका छन् । 

त्यस्तै छात्रातर्फ एभरेष्ट बोर्डिङ स्कूलका एज्जीमा क्षेत्री प्रथम, काशी नोबल एकेडेमीकी बिना चौरसिया द्वितीय, अक्सफोर्डकी द्धिजा गिरी तृतीय, कालिका मानव ज्ञानकी स्नेहा मिश्रा र अक्सफोर्डकी युजिना बुढाथोकी सान्त्वना भएको संयोजक हुमागाईले बताए ।

विद्यार्थीको क्षमता वृद्धि विकास र पढाइमा एकाग्रता बनोस् भन्ने उद्देश्यले सञ्चालन गरिएको प्रतियोगितामा प्रथम हुनेलाई पुरस्कार ६ हजार, द्वितीय पुरस्कार ४ हजार र तृतीय हुनेलाई २ हजार र सान्त्वना १ हजार रुपैयाँ प्रदान गरिएको हुमागाईले बताए ।

काशी नोबल एकेडेमी सन्चालक समितिका अध्यक्ष ओम जैसीको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले चेस खेलले मानसिक रुपमा वृद्धि गराउने भन्दै यसको महत्वका बारेमा चर्चा गरेकी थिइन् ।

सो कार्यक्रममा सामूहिक विद्यालय परिवार रुपन्देहीका अध्यक्ष बसन्त पाण्डे, कार्यपालिका सदस्य सविता गौतम, विद्यालयका सहायक प्राचार्य श्री रायमाझी, शिक्षक दीपक काफ्ले, हरि आचार्य लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक निर्मल हुमागाईले गरेका थिए । चेस प्रतियोगिताको मुख्य निर्णायकमा विजय गुरुङ, निर्णयकमा सुमन श्रेष्ठ, शिवम विक रहेका थिए । भारतबाट सुरु भएको चेस खेल हाल १ सय ७३ देशमा खेलिएको गरेको प्राचार्य राजेन्द्र घिमिरेले बताए ।