२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मौलिक साँस्कृतिक सम्पदाको संरक्षण गर्नु सबैको दायित्व : मुख्यमन्त्री आचार्य

बुधवार , फाल्गुण १४, २०८१

दाङ, १४ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक साँस्कृतिक सम्पदाको संरक्षण र सम्बद्र्धन गर्नु सबैको दायित्व भएको बताएका छन । महाशिवरात्री पर्व, २०८१ को अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेश सरकारले मौलिक कला, संस्कृति तथा सम्पदाको संरक्षणका लागि नीति अवलम्बन गरिरहेको उनले बताएका हुन् । 

आधुनिकताको प्रभावसँगै पर्वहरू मनाउने शैलीमा परिवर्तन भए पनि त्यसका नाममा विकृति तथा विसंगति फैलिन नदिन सबै पक्ष सचेत रहनुपर्ने उनको भनाइ छ । मुख्यमन्त्री आचार्यले आफ्नो सन्देशमा महाशिवरात्री भगवान शिवको उत्पत्तिसँग सम्बन्धित पवित्र पर्व रहेको उल्लेख गर्दै यसलाई कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक मानिने बताए  ।

उनले देशभरका शिवालयहरूमा विशेष आराधना भइरहेको उल्लेख गर्दै लुम्बिनी प्रदेशका धार्मिक मठ, मन्दिर तथा सम्पदाहरूलाई आपसमा जोड्ने पर्यटन सर्किटको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

मुख्यमन्त्री आचार्यले नेपाली भूमि र भगवान शिवबीचको ऐतिहासिक सम्बन्धलाई उजागर गर्दै नेपाल सदा आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको उल्लेख गरे । वैदिक परम्परामा शिवलाई संहारका शक्ति मानिए पनि उहाँमा सौम्य र रौद्र दुवै स्वरूप समाहित रहेको बताउँदै प्रकृतिको सिर्जनात्मक तथा संहारकारी शक्तिलाई समान रूपमा प्रतिनिधित्व गर्ने धारणा व्यक्त गरे ।

मुख्यमन्त्री आचार्यले महाशिवरात्रि पर्वले सबैलाई आफ्ना आचरण, व्यवहार र चिन्तनलाई सकारात्मक बनाउँदै अगाडि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा समेत व्यक्त गरेका छन् ।