२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवाका मिठाई पसलमा अनुगमन, पवन मिष्ठानबाट ८० केजी खुवा बरामद गरी नष्ट

बुधवार , फाल्गुण १४, २०८१

भैरहवा, १४ फागुन । जिल्ला बजार अनुगमन समिति रुपन्देहीले भैरहवाका मिठाई पसलहरुमा अनुगमन गरेको छ । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अयोध्या प्रसाद भण्डारीको नेतृत्वमा खाद्य बजार निरीक्षण तथा अनुगमन समितिले मंगलबार यहाँका तीनवटा मिठाई पसलहरुको अनुगमन गरेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षण अधिकारी गौरी हमाल र सुरक्षा अधिकारीसहितले पवन मिष्ठान्न भण्डार, नन्दन स्वीट्स र साँवरिया स्वीट्सको अनुगमन गरेको जनाएको छ । 

अनुगमनका क्रममा पवन मिष्ठान्न भण्डारले पेडा बनाउनका लागि प्रयोग गर्ने कच्चा पदार्थ खुवा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ विपरित ढुवानी गर्ने गरेको पाइएको छ । पवन मिष्ठानका लागि ढुवानी गरेको पेडा बनाउने कच्चा पदार्थ खुवालाई प्लाष्टिकमा खादेर चिनीको बोरामा ल्याएर राखेको अवस्थामा मिष्ठान भण्डारबाट बरामद गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिए । अनुगमन समितिले बरामद गरेको ८० केजी खुवा नष्ट गरिएको छ । 

IMG_6113.JPG

खाद्य निरीक्षण अधिकारी गौरी हमालले पवन मिष्ठान्न भण्डारले खरिद गरेको खुवा ल्याउँदा लेभल नलगाई, सामान्य तापक्रमको ख्यालै नगरी प्लाष्टिकमा खादेर बोरामा ल्याएको फेला परेकाले खाद्य स्वच्छता तथा गुणस्तर ऐनअनुसार कारवाही गरिने खाद्य निरीक्षक अधिकृत हमालले बताइन्  ।

पवन मिष्ठान भण्डारका सञ्चालक पवन हलुवाईले मर्चवार र त्रिवेणी क्षेत्रका किसानहरुबाट दुध संकलन गरी खुवा बनाएर ल्याउने गरिएको बताए । उनले प्लाष्टिकमा प्याक गरी बोरामा खादेर ल्याउनु गलत भए पनि गुणस्तरमा कुनै कमी नभएको र अखाद्य वस्तु नमिसाएको दावी गरे ।