
बुधवार , फाल्गुण १४, २०८१
दाङ, १४ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महाशिवरात्रि पर्वका अवसरमा दाङको पवित्र धार्मिक तीर्थस्थल पाण्डवश्वर धाम धारपानीको मूल मन्दिरमा पूजाअर्चना गरेका छन् । घोराही उपमहानगरपालिका–५ स्थित धारपानी मन्दिरमा आयोजित विशेष पूजामा मुख्यमन्त्री आचार्यले सहभागी भइ पूजा गरेका हुन् ।
यस अवसरमा नेपाली सेनाको एक टुकडीले त्रिशुललाई सलामी अर्पण गरेको थियो । साथै, कार्यक्रममा लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सिता शर्मा, प्रदेशसभा सदस्य लोका विश्वकर्मा, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल लगायतको विशेष उपस्थिति रहेको थियो ।
पाण्डवश्वर धाम धारपानी धार्मिक तथा ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण तीर्थस्थल मानिन्छ । महाभारतकालमा पाण्डवहरू वनवासको क्रममा यहाँ आएर तपस्या गरेको धार्मिक मान्यता छ । सोही कारण यस स्थानको नाम ‘पाण्डवश्वर धाम’ रहन गएको हो । यस मन्दिरमा विशेष गरी महाशिवरात्री, हरितालिका तीज, बालाचतुर्दशी तथा अन्य हिन्दू पर्वहरूमा भक्तजनको ठूलो घुइँचो लाग्ने गर्छ ।
पाण्डवश्वर धाम धार्मिक आस्थाको केन्द्र मात्र नभइ प्राकृतिक रूपमा समेत आकर्षक गन्तव्य हो । यहाँस्थित प्राचीन गुफा, जलस्रोत र हरियाली वातावरणले पर्यटकहरूलाई समेत लोभ्याउने गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij