२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

ध्यान र साधनाले मानिसलाई स्वस्थ जीवनशैली अपनाउन मद्दत गर्छ : मुख्यमन्त्री आचार्य

बुधवार , फाल्गुण १४, २०८१

  • 934
    Shares
  • 934
    Shares
  • दाङ, १४ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङको घोराही उपमहानगरपालिका–१३ मा रहेको विपश्यना ध्यान केन्द्रको अवलोकन गरेका छन् । अवलोकनका क्रममा उनले विपश्यना ध्यानले मानसिक तथा शारीरिक स्वास्थ्य प्रवद्र्धनमा अतुलनीय योगदान पुर्याएको बताए । साथै, ध्यान र साधनाले मानिसलाई स्वस्थ जीवनशैली अपनाउन मद्दत गर्ने उनको धारणा थियो ।

    केन्द्रमा प्रत्येक महिनामा एउटा १० दिवसीय शिविर, पुराना साधक÷साधिकाका लागि एकदिवसीय शिविर र बालबालिकाका लागि छुट्टै एकदिवसीय शिविर सञ्चालन हुँदै आएको छ । आगामी वर्षमा थप शिविर सञ्चालन गर्ने योजना रहेको अध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।

    हालसम्म केन्द्रले ३३ वटा १० दिवसीय शिविर, एकदिवसीय शिविर, बाल शिविरहरू, तथा विभिन्न संघ–संस्था र विद्यालयहरूमा लघु आनापान ध्यान कार्यक्रम सञ्चालन गरी १ हजारभन्दा बढी व्यक्तिलाई लाभान्वित गरिसकेको छ । आगामी वर्षहरूमा थप शिविर सञ्चालन गरी धेरैभन्दा धेरै मानिसलाई सहभागी गराउने केन्द्रको लक्ष्य छ ।

    विश्वभर विपश्यना ध्यान शिविरहरू निःशुल्क सञ्चालन गरिन्छन् । सहभागी साधक÷साधिकाहरूबाट कुनै शुल्क लिइँदैन । शिविर पूरा गरेका साधक÷साधिकाहरूबाट प्राप्त स्वेच्छिक दानबाट केन्द्र सञ्चालन हुँदै आएको छ ।

    दाङ विपश्यना केन्द्र धम्मपरागको स्थापना र सञ्चालनमा लुम्बिनी प्रदेश सरकारको योगदान रहेको छ । ध्यान केन्द्रको थप विकासका लागि आवश्यक बजेट प्रदेश सरकारबाट विनियोजन गराउन आग्रह गरिएको छ। 
    मुख्यमन्त्री आचार्यसहित उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा, प्रदेश सभा सदस्य लोका विश्वकर्मा, घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी लगायतले केन्द्रको अवलोकन गरेका थिए । यो केन्द्र सामाजिक अगुवा नारायणप्रसाद शर्माको पहलमा स्थापना भएको हो ।