
बिहिवार , फाल्गुण १५, २०८१
बुटवल, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी, रुपन्देहीले सञ्चालन गर्न लागेको वडा केन्द्रीत अभियानको अभिमुखीकरण कार्यक्रम गरेको छ । एमाले रुपन्देहीको जिल्ला कमिटीको टीमसहित सबै जनवर्गीय संगठनका पदाधिकारी तथा अगुवा कार्यकर्ताहरुलाई अभियानको अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा एमाले संगठन विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले पार्टीको तल्लो तह बलियो नहुँदासम्म सिंगो पार्टी कमिटी कमजोर हुने भएकोले निरन्तर जनताको काममा लाग्न निर्देशन दिए । अधिकारीले एमालेमाथि लगाइएका अनर्गल प्रचारहरुलाई चिर्दै जनतालाई पार्टीसँग प्रत्यक्ष जोड्न वडा केन्द्रीत अभियान सार्थक हुने बताए ।
प्रशिक्षणमूलक छलफल चलाइएको उक्त कार्यक्रममा अधिकारीले कार्यकर्ता बलियो बने मात्र पार्टी सशक्त बन्ने भन्दै पार्टीको जग नै वडा र टोल कमिटी भएकोले ती कमिटीहरुलाई बलियो बनाउनुपर्ने बताए ।
गत पुस २१ गते बसेको केन्द्रीय कमिटीले गरेको निर्णयअनुसार एमालेले तीनमहिने जरा अभियान सञ्चालन गरेको हो । यो अभियानमा कार्यकर्तालाई घरसम्म पुग्ने गरी परिचालन गरी पार्टीप्रति जनताको धारणा बुझ्ने अधिकारीले बताए ।
एमाले पोलिटब्यूरो सदस्य तथां रुपन्देही जिल्ला इञ्चार्ज लिला गिरीले एमालेको संगठन विभागले मिसन ०८४ अन्तर्गत यो अभियान चलाएको बताए ।
एमाले रुपन्देहीका उपाध्यक्ष हितराज पन्थीको स्वागत तथा सचिव चित्रबहादुर कार्कीको सञ्चालनमा भएको कार्यक्रममा जिल्ला अध्यक्ष यज्ञ गैरेले जिल्लाभित्रका पार्टीका हरेक कमिटी र जनवर्गीय संगठनको अवस्था, पार्टीका संगठित सदस्य संख्याको अवस्था लगायतको बारेमा जानकारी दिएका थिए ।
सो अवसरमा नेकपा (एकीकृत समाजवादी) रुपन्देहीका जिल्ला सदस्य समिर खानसहित नेता कार्यकर्ताहरुलाई एमालेमा स्वागत गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij