
बिहिवार , फाल्गुण १५, २०८१
भैरहवा, १५ फागुन । नेकपा (एकीकृत समाजवादी) रुपन्देहीको अध्यक्षसहित केन्द्रीय सदस्य बने पनि पछि राजीनामा दिएर स्वतन्त्र बसेका रुपन्देहीका युवा नेता राजु गुरुङले कम्युनिष्ट एकताका लागि नेकपा (एमाले) लाई सघाउन तयार भएको बताएका छन् । एमालेबाट माधव नेपाल समूहमा लागेर नेकपा (एस) को केन्द्रीय सदस्यसमेत बनेका गुरुङ एक वर्ष यता सो पार्टीबाट अलग बसेका थिए ।
२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धनमा एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलविरुद्ध उनी साझा उम्मेदवार बने पनि अन्तिम समयमा निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।
‘म आज एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओलीलाई भेटेर फर्केको छु, सबै कम्युनिष्ट एकताको पक्षमा लागेको मान्छे हो, सबैलाई मिलाउन तयार भएको हकमा म सहयोग गर्न तयार छु भनेर आएको छु उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललाई भेटेर यही कुरा जनाएको छु’, उनले भने, ‘अब नेपालको कम्युनिष्ट आन्दोलन विभाजित होइन संगठित गर्नुपर्छ मैले तपाईँको निर्देशनमा काम गर्छु, जिम्मेवारी दिनुस् भनेको छु । अब यसका लागि दिएको जिम्मेवारी अनुसार काम गर्नेछु । ’
विद्यार्थीकालदेखि अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका गुरुङ बुटवल बहुमुखी क्याम्पसको स्ववियु सभापति, राष्ट्रिय युवा संघ नेपालको रुपन्देही अध्यक्ष, केन्द्रीय उपाध्यक्षसमेत भएका थिए । एमाले नेता निरज आचार्यले अब गुरुङसँगको सहकार्य थप सहज भएको जनाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij