२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

विभिन्न पार्टी छाडेर सयजना बढी जनमुक्ति पार्टीमा प्रवेश

एमाले र माओवादीले जनमतको मूल्य चुकाउनुपर्छ : सूर्यवंशी

बिहिवार , चैत्र ५, २०७७

बुटवल, ५ चैत । 
रुपन्देहीमा विभिन्न पार्टी परित्याग गरी सय जना भन्दा बढी नेता–कार्यकर्ता राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा नेकपा क्रान्तिकारी माओवादीका प्रदेश समिति सदस्य मोजिब अली, माओवादी केन्द्रका तारा छन्तेल र राष्ट्रिय जनमोर्चाका तुलबहादुर सलामीको नेतृत्वमा सय जना भन्दा बढी नेता कार्यकर्ता रहेका छन् । 

बिहीबार मंगलापुरमा आयोजित एक कार्यक्रममा उनीहरुलाई राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशी, पार्टीका उपाध्यक्ष डा. हाजी मोहम्मद मुसलमान, उपाध्यक्ष दलबहादुर बीरकट्टा, होमाया गुरुङ र कमला थापा लगायतले पार्टीमा स्वागत गरेका थिए । 

उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशीले एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनले झण्डै दुईतिहाई बहुमतसहित सरकार बनाए पनि जनमतमाथि विश्वासघात गरेकाले उनीहरुले यसको मूल्य तिर्नुपर्ने बताए । वाम गठबन्धनलाई मत दिएका मतदाताले आफ्नो मतको दुरुपयोग भएको हिसाब खोज्नुपर्ने महासचिव सूर्यवंशीले औंल्याए । वाम गठबन्धनका नाममा एमाले र माओवादीले राजनीतिक भ्रष्टाचार गरेको उनले आरोप लगाए । संविधानमा ‘राइट टु कोर्ट’को व्यवस्था गरेर वाम गठवन्धनको नाममा जनतामाथि राजनीतिक भ्रष्टाचार गर्ने एमाले र माओवादीको दल दर्ता खारेज गरिनुपर्ने तर्क महासचिव सूर्यवंशीले अघि सारे । ‘वाम गठवन्धनको नाममा मत मागेर झण्डै दुई तिहाई वहुमत ल्याएर पनि सरकार चलाउन असफल र तीन वर्ष नपुग्दै पार्टी विभाजनको अवस्थामा पुर्याएकाले अब अर्को चुनावमा उनीहरुलाई जनताले दण्ड दिनुपर्छ’–सूर्यवंशीले भने–‘जनतालाई झुक्याएर सत्तामा पुग्ने यस्ता दलको दर्ता नै खारेज गर्ने व्यवस्था हुनुपर्छ तब मात्र दलहरुले चुनावी घोषणापत्र अनुसार काम गर्न बाध्य हुन्छन् ।’ साना दललाई निस्तेज पार्न थ्रेस होल्डको प्रावधान ल्याएर ठूला दलले मात्र वहुमत पाउने अवस्था सिर्जना गरिए पनि नेकपाको विवाद र विभाजनले त्यो वहुमत असफल सिद्ध भएको समेत उनले बताए । मुलुकमा कम्युनिष्टहरुकै कारण अस्थिरता सिर्जना भएको उनले बताए । अब आउने चुनावमा १६ वर्ष पुगेपछि नागरिकता बनाएका र विदेशमा बस्ने नेपालीले पनि मतदान गर्न पाउनुपर्ने राष्ट्रिय जनमुक्ति पार्टीको माग रहेको महासचिव सूर्यवंशीले बताए । आउँदो चुनावमा आफ्नो पार्टी वैकल्पिक पार्टी बन्ने उनको दावी छ । 

कार्यक्रममा नव प्रवेशी मोजिब अली र कमलमणि श्रीवास्तवले जनमुक्ति पार्टीले सबैभन्दा पहिला अघि सारेको संघीयता, धर्म निरपेक्षता, समावेशिता, समानुपातिक प्रतिनिधित्व जस्ता एजेण्डा अरु दलले धेरै सिको गरेका तर व्यवहारमा सही कार्यान्वयन नगरेकाले पार्टी परित्याग गरेको बताए । पार्टीका उपाध्यक्ष डा. हाजी मोहम्मद मुसलमानले राज्यका हरेक निकायमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वका लागि जनमुक्ति पार्टी लड्दै आएको बताए ।    

राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी थरुहट मगरातका अध्यक्ष झमबहादुर गुरुङको अध्यक्षता, अधिवक्ता एवं पार्टीका लुम्बिनी थरुहट मगरात प्रदेश सचिव बालकिशोर रानाको सञ्चालन र रुपन्देही अध्यक्ष प्रेम थापाको स्वागतमा सम्पन्न भएको थियो ।