
बिहिवार , फाल्गुण १५, २०८१
रुपन्देही, १५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही फागुन १७ गते शनिबार रुपन्देहीको बुटवलमा लुम्बिनी प्रदेशस्तरीय बृहत आमसभा गर्ने भएको छ । ‘अवस्था बदल्न व्यवस्था बद्लौं’ भन्ने नाराका साथ राप्रपा लुम्बिनी प्रदेशको आयोजनामा शनिबार आमसभा हुन लागेको हो ।
आमसभाबारे जानकारी दिन बिहीबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले सातवटै प्रदेशमा पार्टीले आयोजना गर्ने कार्यक्रम अन्तर्गत शनिबार जनजागरणको रूपमा सभा गर्न लागिएको जानकारी दिए । उनका अनुसार सभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षद्वय विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, महामन्त्री धवल शमसेर राणा, केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरुले सम्बोधन गर्नेछन । ट्राफिकचोकमा गरिने सभामा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाबाट पार्टीका नेता–कार्यकर्ता तथा आम नागरिकको सहभागीता हुने पार्टीले जनाएको छ । सभा शनिबार दिउँसो १२ बजेदेखि सुरु हुनेछ ।
आमसभा सुरु हुनुअघि बुटवलको बसपार्कबाट र्याली निकालिने र उक्त र्यालीको नेतृत्व अध्यक्ष लिङ्देन, उपाध्यक्षद्वय पाण्डे, प्रधान र केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष थापाले नेतृत्व गर्नेछन् । त्यस्तै लायन्स आँखा अस्पतालबाट निकालिने र्यालीको नेतृत्व महामन्त्री राणा र प्रवक्ता शाहीले गर्नेछन् । देशमा वर्तमान अवस्थामा व्याप्त विसंगति, विकृति, भ्रष्टाचारको बारेमा तथा राप्रपाको भावी कार्यक्रमको बारेमा जानकारी दिने उद्देश्यले आमसभाको आयोजना गरिएको अध्यक्ष उदयले बताए ।
‘अहिले देशमा रहेको विकृति र विसंगतिप्रति नेपाली जनतामा वितृष्णा पैदा भएको छ, राप्रपाले उठाएको मुद्दा वास्तवमा आवश्यक छ भन्ने नेपाली जनताले महसुस गरिरहेको छ,’अध्यक्ष उदयले भने–‘अब मुलुकलाई निकास दिनका लागि नयाँ समझदारीमा गएनौ, यो मुलुकको राष्ट्रियता नै खतरामा पर्न सक्ने सम्भावना देखेका छौं ।’ उनले मुलुकमा राजालाई अभिभावकीय भूमिका दिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने तथा धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र स्थापना गर्नुपर्ने माग गरे ।
केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन देश बचाउनको लागि भएको राप्रपाले ठहर गरेको अध्यक्ष उदयको भनाइ छ ।
राप्रपाका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले अहिले मुलुकको अवस्था दयनीय रहेको र सरकारले जनताप्रति ध्यान नदिएको दावी गरे । उनले मुलुकको अवस्था र परिस्थिति नियाल्दा अशान्त देखिएको बताए । ‘देशमा अभिभावकीय राजसंस्था चाहिन्छ, प्रदेश खारेज हुनुपर्छ, हिन्दू राष्ट्र कायम गरिनुपर्छ । यति नगर्दासम्म देश उभो लाग्दैन’ थापाले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij