
बिहिवार , फाल्गुण १५, २०८१
भैरहवा, १५ फागुन । नेपाल इन्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशको आयोजनामा भैरहवामा टी टेन (१०) क्रिकेट प्रतियोगिता हुने भएको छ । पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका टीमसहित सुदुरपश्चिम, गण्डकी र बागमती प्रदेशका गरी १३ टीमको सहभागीता रहने भैरहवामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रतियोगिता शुक्रबार र शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा हुँदैछ । प्रतियोगिताका विजेता टीमले ५१ हजार नगदसहित शिल्ड र उपविजेताले ३१ हजार रुपैयाँ र शिल्ड प्राप्त गर्ने कार्यक्रम संयोजक ई. कृतेश श्रेष्ठले जानकारी दिए ।
ईन्जिनियरहरुवीच आपसी भाईचारा, सदस्यता वृद्धि र खेल क्षेत्रको प्रवद्र्धनका लागि प्रतियोगिताको आयोजना गरिएको एसोसियसनका अध्यक्ष ई. महेश्वर लम्सालले जानकारी दिए । प्रतियोगितामा म्यान अफ द म्याच, मेन अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याटर लगायतलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । अध्यक्ष लम्सालले पेशाकर्मीहरूबीचको सौहार्दता, टीमवर्क र खेलकुदको भावनालाई बढवा दिने उद्देश्यले पहिलो एन.इ.ए.ले क्रिकेट प्रतियोगिता सुरु गरेको बताए । यो खेलकुद कार्यक्रमले लुम्बिनी प्रदेशका इन्जिनियरहरूलाई एकै ठाउँमा ल्याउने र जसले क्रिकेट र व्यावसायिक एकतामा सहयोग गर्ने उनले बताए ।
पत्रकार सम्मेलन लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीको प्रमुख आतिथ्यता तथा प्रवेश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij