
शनिवार , फाल्गुण १७, २०८१
बुटवल, १७ फागुन । रुपन्देहीको बुटवलमा सम्पन्न एभरेष्ट खुल्ला जिल्लास्तरीय चित्रकला प्रतियोगिताको उपाधि न्यू इन्भाइरोमेन्ट स्कूलका विद्यार्थी रौनक खरेलले जितेका छन् । बुटवलस्थित सुख्खानगरमा रहेको एभरेष्ट माध्यमिक विद्यालयको एभरेष्ट आर्ट क्लबले आयोजना गरेको जिल्लास्तरीय चित्रकला प्रतियोगितामा २० जना प्रतिष्पर्धीलाई पछि पार्दै खरेलले एभरेष्ट उत्कृष्ट चित्रकलाको उपाधि जितेका हुन् । उनले उपाधिसहित नगद ८ हजार रुपैयाँ, शिल्ड तथा प्रमाणपत्र हात पारेका हुन् ।
प्रतियोगितामा सहभागी भएका प्रतिष्पर्धीहरुलाई विधागत रुपमा समेत पुरस्कृत गरिएको थियो । प्रतियोगितामा पहिलो विधातर्फ पामिर इन्टरनेशनल एकेडेमीका राजन थापाले वेष्ट आर्ट कम्पिटेशन एवार्ड, आवर पिसल्याण्ड एकेडेमीका कन्चन श्रीसले मष्ट रिलेभेन्ट थिम एवार्ड, एपेक्स स्कुलका प्रभाकर थापाले मष्ट क्रियटिभ एवार्ड, न्यू नमूना स्कुलका प्रमोद पुवारले वेष्ट कन्टेन एवार्ड, दीप बोर्डिङ स्कुलका सोमीन पियाले बेष्ट मिडीयम इन आर्ट एवार्ड र यान्सी खत्रीले पोट्रेक्ट एवार्ड प्राप्त गरेका छन् ।
त्यस्तै दोस्रो विधातर्फ न्यू होराइजन स्कूलका दिप्सा कर्माचार्य एमर्जिङ एवार्ड, लुम्बिनी वल्र्ड स्कूलका सोफिया आलेले पब्लिक च्वाईस एवार्ड प्राप्त गरिन् । तेस्रो विधातर्फ नमुना एभरग्रीन स्कूलकी साधना बिरकटाले रिकोनाइजिङ एवार्ड प्राप्त गरेका हुन् । उनीहरुले विजेता बन्दै पहिलो र दोस्रो विधातर्फ जनही नगद २÷२ हजार रुपैयाँ र तेस्रो विधामा पर्नेले नगद १÷१ हजार रुपैयाँ, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको कार्यक्रम संयोजक विशाल थापाले जानकारी दिए ।
विजयी विद्यार्थीहरुलाई शिल्ड, प्रमाणपत्र तथा पुरस्कार वितरण गर्दै नेपाल व्यवसायी कलाकार संघ रुपन्देहीका अध्यक्ष दिलीप रसाइलीले कला र सृजनाले अनुशासन सिकाउने बताए । शिक्षालयहरुमा कलाकारिता र चित्रकारितालाई नियमित अध्ययनको विषय बनाउनुपर्ने उल्लेख गर्दै उनले विद्यार्थीलाई अनुसाशित र लगनशील बनाउन कलाले ठूलो भुमिका खेल्ने भएकाले यसलाई राज्यले ध्यान दिनुपर्ने सुझाव दिए ।
एभरेष्ट आर्ट क्लबका अध्यक्ष सिमाना न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल व्यवसायी कलाकार संघ रुपन्देहीका सल्लाहकार एचबी रम्तेल, कलाकार वेनप्रसाद थापा, विद्यालयका सह–प्राचार्य भिमसेन गौतम, विद्यालय सञ्चालक सदस्य ठाकुर प्रसाद ज्ञवाली, उपप्राचार्य उमेश रेग्मी, माला पाण्डे, तहगत संयोजक शारदा अर्याल, आशा भुसाल, क्लबका सचिव सोफिया रानालगायतले विजयी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।
विद्यार्थी गृश्मा खनाल र जेनिसा श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा रुपन्देहीका विभिन्न सामूदायिक र संस्थागत विद्यालयका झण्डै दुई दर्जन विद्यार्थीहरुले पर्यावरण, शिक्षा, भाव, प्रकृति, धर्म, संस्कृति लगायतका परिदृष्य देखिने खालका चित्रहरु कोरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij