
शनिवार , फाल्गुण १७, २०८१
कोहलपुर, १७ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तेस्रो कोहलपुर गोल्डकप–२०८१ को उद्घाटन गरेका छन् । सहारा क्लबको आयोजनामा बाँकेको कोहलपुरमा सुरू भएको उक्त प्रतियोगिताको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश खेलकुद क्षेत्रमा समृद्ध बन्दै गएको बताए ।
उनले खेल क्षेत्रलाई पर्यटनसँग जोडेर अगाडि बढाउन आवश्यक रहेको उल्लेख गरे । उनले भने, ‘लुम्बिनी प्रदेश खेलकुद क्षेत्रमा समृद्ध बन्दै गएको छ । युवा खेलाडीलाई आकर्षित गर्न सफल भएका छौं । खेलकुदले बाह्य देशका नागरिकलाई समेत भित्र्याउने भएकाले यसको भूमिका महत्वपूर्ण बन्दै गएको छ ।’
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा खेल पूर्वाधार निर्माण, खेलाडी पहिचान, उत्पादन र क्षमता विकासलाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको जानकारी गराए । उनले खेल पूर्वाधार सुधार गर्न स्थानीय तहसँग सहकार्य गर्दै प्रदेश सरकारले अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रदेश सरकारले खेल क्षेत्रको विकासका लागि आवश्यक सबै उपायहरू अवलम्बन गर्ने बताउँदै उनले बाँके र बर्दिया जिल्लालाई विशेष प्राथमिकता दिएको स्पष्ट पारे । उनका अनुसार चालू आर्थिक वर्षमा बाँके जिल्लाका लागि मात्र २ अर्ब ४० करोड रुपैयाँ पुँजीगत बजेट विनियोजन गरिएको छ ।
उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, खेलप्रेमी तथा सामाजिक अगुवाहरुको सहभागीता थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij