२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी भ्रमणका लागि आउने तेस्रो मुलुकका पर्यटकलाई भिषा शुल्क अनिवार्य गर्न सुझाव

आइतवार , फाल्गुण १८, २०८१

भैरहवा, १८ फागुन । बुद्ध जन्मस्थल लुम्बिनीसँगै बुद्धसँग सम्बन्धित रुपन्देही, नवलपरासी र कपिलवस्तुमा रहेका पुरातात्विक बुद्ध स्थलहरुको पर्यटन प्रवद्र्धनका लागि आयोजित ‘बुद्ध ज्ञान साईकल यात्रा’ सम्पन्न भएको छ । फागुन १६ गते भैरहवाको बुद्धचोकदेखि सुरु भएको उक्त यात्रा १७ गते लुम्बिनी पुगेर समापन भएको कार्यक्रम संयोजक शैलेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए ।

साईकल सिटी भैरहवाको आयोजनामा गत वर्षदेखि सुरु हुन थालेको बुद्ध ज्ञान साईकल यात्राको दोस्रो संस्करणमा जर्मन, भारत र नेपालका गरी १ सय ३० जना साईकलिष्टहरु सहभागी थिए । दुईदिने यात्रामा सबै भन्दा कम उमेरका बालक ८ वर्षिय किस्टोफर श्रेष्ठ र बालिकामा ११ वर्षिय आश्वानी खरेल सहभागी थिए । त्यसै गरी जेष्ठ नागरिकमा भारत उत्तराखण्डका जोडी ७६ वर्षका कमल जित दिमन र ७१ वर्षिय बिस्हु दिमन सहभागी रहेको साईकल सिटी भैरहवाका अध्यक्ष सूर्य कुमार सारु मगरले बताए । 

आन्तरिक र बाह्य पर्यटकको नजरमा लुम्बिनीबाहेकका अन्य बुद्धसँग जोडिएका स्थान ओझेलमा परेको हुनाले ती क्षेत्रको प्रचारप्रसारका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साईकिलिष्टहरुलाई सहभागीता गराएर साईकल यात्रा गराएको आयोजकले जनाएका छन् । 

यात्रामा सहभागीहरुलाई सम्मान गर्दै प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले रुपन्देही, नवलपरासी र कपिलवस्तुको पर्यटन प्रर्बधनमा यस्ता कार्यक्रमहरुले ठूलो सहयोग पुगेको बताए । तीन जिल्लाको बौद्ध सर्किटलाई साईकलको माध्यमबाट जोड्ने राम्रो कार्यको शुभारम्भ भएको उनले बताए ।

कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख (मेयर) सजरुद्दीन मुसलमान, लुम्बिनी विकास कोषका वरिष्ठ सूचना अधिकृत राजन बस्नेत, लुम्बिनी होटल संघ, नेपालका अध्यक्ष गोविन्द ज्ञवाली, सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद घिमिरे लगायतले लुम्बिनीको आर्थिक चलायमान र मुलुकको आर्थिक विकासका निम्ति लुम्बिनी भ्रमणका लागि आउने तेस्रो मुलुकको पर्यटकहरुलाई भिषा शुल्क अनिवार्य गर्न सुझाव दिए । 

उनीहरुले सार्क मुलुकका पर्यटहरुको भिषा शुल्क निःशुल्क हुँदा भारतीय ट्राभल्स व्यवसायीहरुले लुम्बिनीलाई बुद्ध सर्किटको एउटा साईटको रुपमा राखी लुम्बिनी आएकै दिन फर्किने कार्यक्रम बनाउदाँ नेपाली व्यवसाय मर्कामा परेको बताए । उनले राज्यको पनि राजस्व गुमेको उनीहरुको भनाइ छ ।

सोही दिन फर्किने पर्यटकको हकमा नेपाल सरकारले सीमा नाकामा कम्तीमा ३ दिनको भिषा शुल्क लिनुपर्ने सहभागीहरुले सुझाव दिए । ‘कि सरकारलाई राजस्व आउन पर्यो, कि व्यवसायीहरुको होटल सञ्चालन हुनुपर्यो, ’लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले भने । 

भिषा शुल्क निःशुल्क हुँदा भारतीय ट्राभल व्यवसायीहरुले लुम्बिनीलाई ४ देखि ६ घण्टाको भ्रमण तालिकामा सरकारका लागि पर्यटक बढेको तथ्यांक देखिनेमा मात्रै सीमित भएको साईकल सिटी भैरहवाका अध्यक्ष सूर्य कुमार सारु मगरले बताए ।

e79653cd-ba84-4e71-9298-7c2726ace496.jpg