२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पुजा र कविता एक्स्ट्राटेकको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त

आइतवार , फाल्गुण १८, २०८१

बुटवल, १८ फागुन । नेपाली महिला क्रिकेटकी राष्ट्रिय खेलाडी तथा यु–१९ कि कप्तान पुजा महतो र कविता कुवँर एक्स्ट्राटेक ओवल क्रिकेट मैदानको ब्राण्ड एम्बेसडर बनेका छन् । निजी क्षेत्रबाट निर्मित अन्तर्राष्ट्रिय क्रिकेट मैदानले महतो र कुवँरलाई आगामी दुई वर्षका लागि ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरेको हो । महतो र कुवँरसँग मैदानका सञ्चालक विनोद कुवँरले आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निमार्णाधिन मैदानमा एक कार्यक्रमकाबीच सम्झौता गरेका हुन् । 

कार्यक्रममा एक्स्ट्राटेकका निर्देशक तथा सञ्चालक कुवँरले नेपाली महिला क्रिकेट खेलमा सानो भए पनि योगदान गर्ने र खेलाडीलाई खेलमा केन्द्रीत हुने वातावरण सिर्जना गर्ने उद्देश्यले महतो र कुवँरलाई ब्राण्ड एम्बेसडर नियुक्त गरिएको बताए । उनले नेपाली महिला क्रिकेटको भविष्य उज्जवल रहेको र युवा खेलाडीहरुले नियमित रुपमा खेल्ने अवसर पाएमा टेस्ट राष्ट्रको दाजोमा पुग्न सक्ने महसुस गर्दै सानो सहयोग गरेको बताए । 

निर्देशक कुवँरले खेलाडीहरुलाई खेल खेलेर जीवन धान्न सकिन्छ भन्ने देखाउन र उनीहरुको हौसला बढाउन यसप्रकारको कामले प्रेरित गर्ने बताउँदै खेलाडीलाई खेलमा ध्यान केन्द्रीत गर्ने अवस्था बनाउनु जरुरी रहेको धारणा राखे । उनले ब्राण्ड एम्बेसडरको सम्झौतालाई निरन्तरता दिन प्रतिवद्धता जनाउँदै आगामी दिन थप अरु खेलाडीहरुलाई समेटेर लैजाने योजना रहेको बताए । 

कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय उपाध्यक्ष रोशन सिंहले क्यानकै प्रोटोकलभित्र रहेर दुई नेपाली महिला खेलाडी एक्स्ट्राटेकको ब्राण्ड एम्बेसडर बनेको बताए । उनले यसप्रकारको सहयोगले खेलाडी र क्रिकेटको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले निजी लगानीमा सबै सुविधायुक्त क्रिकेट मैदान निर्माण गरी ऐतिहासिक काम गरेको अवस्थामा खेलाडीलाई ध्यान दिदै गरिएको अर्को कामले नेपाली क्रिकेटमा उत्साहा थपेको बताए । 

सो अवसरमा ब्राण्ड एम्बेसडर नियुक्त भएकी महिला क्रिकेट टिमकी सदस्य पुजा महतोले यु–१९ को टीम छनौटका लागि एक्स्ट्राटेक ओबल मैदानमा गरिएको क्लोज क्याम्प आफ्नो खेल जीवनको स्वर्ण क्षण भएको बताइन् । उनले एम्बेसडर नियुक्तिले आफूलाई हौसला र खेलमा केन्द्रीत हुने अवस्था निमार्ण गरेको भन्दै खुशी व्यक्त गरिन् । 

महतोले यसले आफूलाई धेरै हौसला प्रदान गर्नुका साथै आफ्नो खेल जीवनमा धेरै सहयोग पुग्ने बताइन । ‘एक्स्ट्राटेकसँग सम्झौता हुँदा धेरै खुसी छु । यस्तो खाले सहयोगले हामी खेलाडीलाई हौसला मिल्छ । साथै देशका लागि अझै धेरै सफलता दिलाउने हौसला मिल्नेछ’, महतोले भनिन ।

कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च  रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले यो सम्झौताले क्रिकेटमा लाग्ने महिला खेलाडीलाई हौसला प्रदान गरेको बताएका थिए । पत्रकार दिपेन्द्र कुवँरको सञ्चालनमा कार्यक्रम भएको थियो । एक्स्ट्राटेक ओबलले नेपालका लिजेन्ट क्रिकेट खेलाडी तथा पुरुष यु–१९ का राष्ट्रिय प्रशिक्षक शक्ति गौचनलाई यसअघि नै ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।